इमान्दार प्रयासले लोडसेडिङ अन्त्य भयाे : कुलमान घिसिङ

इमान्दार प्रयासले लोडसेडिङ अन्त्य भयाे : कुलमान घिसिङ

‘एक जिम्मेवार नागरिकको रुपमा मेरो काम कर्तव्य कहिल्यै कम हुने छैन’



काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट बर्खास्तीमा परेका कुलमान घिसिङले लोडसेडिङ अन्त्य इमानदार प्रयास भएको बताएका छन् । शुक्रबार पत्रकार सम्मेलन गर्दै घिसिङले यस्तो बताएका हुन् ।

उनले भने, ‘वैदेशिक मुद्रामा चाप परेको बेला हामीले विद्युत् निर्यात गरेर अर्थतन्त्रमा योगदान गर्‍यौं, निरन्तर घाटामा रहेको प्राधिकरण अर्बौं नाफामा छ, हामी प्राधिकरणलाई सशक्त र आत्मनिर्भर बनाउन सफल भयौं, प्राधिकरणले जनताको घरघरमा बिजुली पुर्‍याउन सक्नु नै मेरो कार्यकालको सफलता हो ।’

सरकारले कार्यकाल बाँकी छँदै कार्यकारी बर्खास्त गरेपछि घिसिङ सरकारविरुद्ध सर्वोच्च अदालत गएका थिए । सर्वोच्चले अन्तरिम आदेश नदिएपछि घिसिङले यिनै सेरोफेरोमा रहेर पत्रकार सम्मेलन गरिरहेका हुन् ।

घिसिङले आफूलाई अझै जनताको स्नेह र आशीर्वादले हार्ने छुट नदिएको भन्दै आफूलाई हटाउन लाग्नुको स्वार्थबारे सबै जनता जानकार रहेको बताए ।

‘नेपाली जनतालाई भरपर्दो, गुणस्तरिय पर्याप्त सुरक्षित विद्युत् आपूर्ति उपलब्ध गराउने मुख्य उद्देश्यलाई इमानदारितापूर्वक खटिरहेको राष्ट्रसेवक कर्मचारीलाई हतोत्साहित एवं अपमानित गराउने दुराशय सफल भएकोमा कतिपय व्यक्ति, समूह वा शक्तिले आफूलाई सफल ठानेका होलान्,’ घिसिङले भनेका छन्, ‘नेपाली जनताले दिएको स्नेह र आशीर्वादले मलाई हार्न दिएको छैन ।’

साथै, उनले आफू विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बिदा भए पनि नागरिकको रुपमा गर्नुपर्ने कर्तव्यबाट पछि नहटेको बताए ।

‘म विद्युत् प्राधिकरणको कार्यकारी निर्देशबाटमात्रै बिदा भएको हुँ । एक जिम्मेवार नागरिकको रुपमा मेरो काम कर्तव्य कहिल्यै कम हुने छैन,’ घिसिङले भनेका छन्, ‘नेपालको कानुनले निदृष्ट गरेको काममा खटिएको एक कर्मचारीमाथि राज्यको सम्पूर्ण शक्ति कसरी खटिएको थियो, कसको स्वार्थको विषयमा ममाथि जाइलागेको थियो भन्ने नेपाली जनता आफैं जानकार छन् ।’

मन्त्रिपरिषद् बैठकले आफूलाई हटाउने दिन पनि बिजुली बाल्नकै लागि मकवानपुरको एउटा विकट बस्तीमा आफू खटिएको उनले बताएका छन् ।

‘मलाई हटाउन मन्त्रिपरिषद् बैठकले तयारी गरेको दिनपनि म मकवानपुरको विकट चेपाङ बस्तीमा बत्ती बाल्ने काममा खटिरहेको थिए,’ घिसिङले भने ।

उनले आम नागरिकको रुपमा आफूले गर्ने काममा कहिल्यै कमि नहुने उनले बताएका छन् । ‘सरकारको निर्णयले काम गर्ने कर्मचारीलाई हतोत्साहित बनायो, म जिम्मेवार नागरिकका रुपमा कैले कम हुने छैन,’ उनले भनेका छन्, ‘राज्यको सबै शक्ति ममाथि खनाइयो, यसमा जनता आफैं प्रष्ट छ, सार्वभौम संसद् दुरुपयोग गरियो, यसबाट म विचलित भएको छैन ।’

उनले आफूमाथि ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काले अनावश्यक नैतिक प्रश्न उठाउने काम गरेको पनि आरोप लगाएका छन् ।