बानामा जितेन्द्र गुरुङ टीमको शानदार जीत

बानामा जितेन्द्र गुरुङ टीमको शानदार जीत

कांग्रेस समर्थकहरुले दिए उत्साहको सन्देश



बाल्टिमोर, अमेरिका । यहाँको स्थानीय नेपाली समुदायको सबैभन्दा ठूलो संस्था बाल्टिमोर एसोसिएसन अफ नेपालिज् इन अमेरिका (बाना) को नयाँ नेतृत्वमा जितेन्द्र गुरुङ टीमको शानदार जित भएको छ। आइतवार सम्पन्न निर्वाचनमा अध्यक्षका तीन प्रत्यासी मध्ये जितेन्द्र गुरुङ १ हजार एक सय ६१ मतसहित विजयी भएका छन्। यसैगरी अन्य सम्पूर्ण पदमा पनि उनकै समूहका प्रत्यासीहरुले जित हासिल गरेका छन्।

बाना बाल्टिमोरमा रहेका नेपालीहरुको सबैभन्दा ठूलो र पुरानो सामाजिक संस्था हो। अढाई दशक पुरानो संस्थाको यसपटकको निर्वाचनलाई सबैले निकै चासो र उत्सुकताका साथ हेरेका थिए। करीब पाँच हजार हाराहारी सदस्य रहेको बानाको निर्वाचनमा यसपटक कूल दुई हजार ६ सय ७३ नेपालीहरुले प्रत्यक्ष सहभागी भएर मतदान गरेका थिए। जसमध्ये १८ मत बदर भएको निर्वाचन समितिले जानकारी दिएको छ।

कूल सदर मत मध्ये निर्वाचित अध्यक्ष गुरुङले १ हजार १ सय ६१ मत ल्याएका हुन् भने उनीसँगै प्रतिष्पर्धामा रहेका कोशिश भण्डारीले ९ सय ५५ र अर्की प्रत्यासी लक्ष्मी भारतीले ५ सय ६१ मत ल्याईन्। गुरुङ सोही संस्थाका सल्लाहकार समेत हुन् भने भारती वरिष्ठ उपाध्यक्ष। कोशिश भण्डारी चाहिं यस पहिले बानाको कुनै भूमिकामा नरहेका तर परिवर्तनको नारा अघि सारेर निर्वाचनमा प्यानलसहित प्रतिष्पर्धामा थिए। संस्थापन पक्षकी भारती पनि टीमसहित चुनावी मैदानमा थिइन्। जसमध्ये बानाका सदस्य मतदाताहरुले जितेन टीमलाई अनुमोदन गरे भने कोशिशको परिवर्तनको नारालाई पनि उप विजेताको रुपमा मत दिएर समर्थन गरे।

विजयी जितेनको टीमलाई समावेशी र सबैले स्वीकार गर्ने टीम भनेर प्रचार गरिएको थियो जसलाई मत परिणामले पनि अनुमोदन गरेर पुष्टी गरिदिएको छ। उनी र उनका पक्षका उम्मेद्वारहरुलाई बाल्टिमोरका प्राय: सबै स्थानीय नेपाली समुदायका भेगीय र अन्य संघ,संस्थाले पनि समर्थन गरेका थिए भने नयाँ र युवा पुस्ताले कोशिश टीमलाई समर्थन गरेको थियो। यसैगरी विगत १२ वर्षदेखि नेतृत्वमा रहेको संस्थापन पक्षले भारतीलाई समर्थन गरेको थियो। तर मतदाताले संस्थापन पक्षलाई तेश्रो बनाईदिए भने जितेनलाई आगामी तीन वर्षको लागि सामाजिक सेवाको क्षेत्रमा काम गर्ने जिम्मेवारी सुम्पिए।

अरु बिजेता को को हुन् र कति मत ल्याए ?

एक अध्यक्षसहित, वरिष्ठ उपाध्यक्ष, एक महासचिव,एक सचिव र एक कोषाध्यक्षसहित आठ जना कार्य समिति सदस्य उम्मेदवार रहेको यो निर्वाचनमा जितेन टीमले पाँच जना सदस्यलाई उम्मेदवार बनाएको थियो। ती सबै उम्मेदवार बिजयी भएका छन् भने बाँकी तीन सदस्यमा कोशिश टीमका दुई र भारती पक्षबाट एक जना निर्वाचित भएका छन्। जस अनुसार वरिष्ठ उपाध्यक्षमा जनक थापा ९८५ मत ल्याएर बिजयी भए । उपाध्यक्षमा बिजयी भएका ब्रजेश महर्जनले १,१२५ मत पाए । महासचिवमा सलिन बस्नेत १,००१ मतले बिजयी भए । त्यस्तै सचिवमा बिजयी सुशील खत्रीले ९३९ मत ल्याए । कोषाध्यक्षकी उम्मेदवार संजु डंगोलले ९९७ मत ल्याएर बिजय हात पारिन् ।

यसैगरी कार्य समिति सदस्यमा हृदय केसी (१,३७७), प्रविन लामा (१,३४६), राजु सुबेदी (१,३३५), भुपेशजंग शाही (१,३१०), सोनीका चुनारा (१,२६४), अर्जुन क्षेत्री (१,२२०), लक्ष्मीराम (ललित) शाह (१,१८३) र डा. कृष्ण विष्ट (१,१७३) बिजयी भए । प्रविन लामा भारती टीमका एक्लो निर्वाचित सदस्य हुन् भने अर्जुन क्षेत्री र डाक्टर कृष्ण विष्ट कोशिश टीममा रहेका थिए।

को हुन् नव निर्वाचित अध्यक्ष जितेन गुरुङ ?

नेपालको पर्वत जिल्लाका गुरुङ करीब १ दशक पहिलेदेखि बाल्टिमोरमा बसोवास गर्छन्। अत्यन्त सरल र मृदुभाषी गुरुङ नेपाली कांग्रेसको सक्रिय कार्यकर्ता समेत हुन्। सामाजिक रुपमा सबैसंग घुलमिल गरेर काम गर्ने स्वभावका गुरुङ बानामा सल्लाहकार समेत थिए। यसैगरी उनी पर्वत समाज, गुरुङ समाज, मगर समाजलगायत अन्य संघ,संस्थामा पनि आवद्ध छन्। कोरोना संक्रमणका समय उनी समुदायमा निकै सक्रिय भएर काम गरेका थिए।

यस पहिले बाना निर्वाचनमा सधैं विभाजित रहने नेपाली जनसम्पर्क समितिमा आवद्ध नेपाली कांग्रेस समर्थक सबैले यसपटक अभूतपूर्व रुपमा एक भएर जितेन गुरुङको टीमलाई सघाएका थिए। अन्तत: कांग्रेसहरुको बलियो र एकताबद्ध शक्तिको आड अनि स्थानीय समुदायका अगुवा प्रतिनिधिहरुको बलियो समर्थनले जितेन गुरुङ टीम शत प्रतिशत रुपमा विजयी भयो।

यस पहिले सन् २००९ मा रबिना थापा अध्यक्ष र यस ग्लोब नेपाल डटकमका संस्थापक संचालक गौतम दाहाल महासचिवमा निर्वाचित भएयता कांग्रेस निकट र समर्थक कोही पनि नेतृत्वमा निर्वाचित हुन सकेका थिएनन्। यसपटक नेपाली कांग्रेस निकट जितेनको टीमका सबैले जित हासिल गरेर उत्साहको सन्देश समेत दिएका छन्।