काठमाडौं । बेलकोटगढी नगरपालिकाले एक विशेष कार्यक्रमका बीच आफ्नो स्थानीय पाठ्यक्रम ग्रहण गरेको छ। नगरप्रमुख जगत बहादुर गुरुङ, उपप्रमुख शिव दाहाल, प्रमुख प्रशासकीय अधिकृत सन्जय बहादुर राजलवट, विभिन्न वडा अध्यक्षहरू, राजनीतिक दलका प्रतिनिधिहरू र शिक्षा शाखाका अधिकारीहरूको उपस्थितिमा उक्त पाठ्यक्रम लेखन पक्षले नगरपालिकालाई हस्तान्तरण गरेको हो।
नगरपालिकाको तर्फबाट नगरप्रमुख गुरुङ, उपप्रमुख दाहाल, प्रमुख प्रशासकीय अधिकृत राजलवट लगायत राजनीतिक दलका प्रतिनिधिहरूले संयुक्त रूपमा पाठ्यक्रम ग्रहण गरेका थिए।
कार्यक्रममा बोल्दै नगरप्रमुख जगत बहादुर गुरुङले यो पाठ्यक्रम गत शैक्षिक सत्रदेखि नै सुरुवात भए पनि यस वर्ष पाठ्यपुस्तकसहित केही दिनभित्रै कक्षाकोठामा पुर्याइने जानकारी दिए। यससँगै बेलकोटगढी नगरपालिका नुवाकोट जिल्लाकै पहिलो स्थानीय पाठ्यक्रमसहितको पाठ्यपुस्तक कार्यान्वयन गर्ने पालिका बन्न सफल भएको उनले बताए।
त्यसैगरी, नगर उपप्रमुख शिव दाहालले स्थानीय आवश्यकता र पहिचानलाई समेटेर राम्रो पाठ्यपुस्तक तयार भएकोमा खुसी व्यक्त गरे। उनले कार्यान्वयनको क्रममा केही समस्या देखिएमा त्यसलाई सच्याउन सकिने पनि बताए। कार्यक्रममा उपस्थित राजनीतिक दलका प्रतिनिधिहरूले पनि पाठ्यपुस्तकको गुणस्तरको प्रशंसा गरेका थिए।
उक्त पाठ्यपुस्तक बुक ब्यास इनोभेटिभले तयार पारेको हो र यसको नाम ‘बेलकोटगढी सेरोफेरो’ राखिएको छ। नगरप्रमुख गुरुङका अनुसार यो पाठ्यक्रम यसै शैक्षिक सत्रदेखि कक्षा ८ सम्म लागू गरिनेछ। ‘बेलकोटगढी सेरोफेरो’ नामक यस पुस्तकमा बेलकोटगढी क्षेत्रको धर्म, संस्कृति, रीतिरिवाज, भेषभूषा, आर्थिक, सामाजिक लगायत सम्पूर्ण पक्षहरू समेटिएका छन्।
यसरी, बेलकोटगढी नगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माण र कार्यान्वयनको दिशामा महत्वपूर्ण फड्को मारेको छ, जसले विद्यार्थीहरूलाई आफ्नो स्थानीय परिवेश र पहिचानबारे थप जानकारी हासिल गर्न मद्दत पुग्ने विश्वास लिइएको छ।
प्रतिक्रिया