दिगो विकास लक्ष्य कार्यान्वयन गर्न २ सय ११ खर्ब ६५ अर्ब लगानी आवश्यक पर्ने

दिगो विकास लक्ष्य कार्यान्वयन गर्न २ सय ११ खर्ब ६५ अर्ब लगानी आवश्यक पर्ने



काठमाडौं । राष्ट्रिय योजना आयोगले सन् २०३० सम्मका लागि दिगो विकास लक्ष्य कार्यान्वयन गर्न लागि ७ वर्षमा झन्डै २ सय ११ खर्ब ६५ अर्ब रुपैयाँ लगानी आवश्यक पर्ने अनुमान गरेको छ ।

‘दिगो विकास लक्ष्य : आवश्यकता पहिचान, लागत अनुमान तथा वित्तीय रणनीति–२०८१’ सार्वजनिकीकरण कार्यक्रममा आयोगले दिगो विकास लक्ष्य कार्यान्वयनका लागि सन् २०३० सम्ममा वार्षिक औसत ३० खर्ब २३ अर्ब रुपैयाँ आवश्यक पर्ने अनुमान गरेको हो ।

दिगो विकास लक्ष्यहरूमध्ये कुल लगानीको सबैभन्दा ठूलो हिस्सा लक्ष्य–९ मा रहेको उद्योग र पूर्वाधारमा आवश्यक हुने आयोगकी कार्यक्रम निर्देशक अनिता पौडेलले बताए । उद्योग र पूर्वाधारमा कुल लगानीको २४ प्रतिशत आवश्यक पर्ने देखिएको छ ।

यस्तै लक्ष्य–७ मा रहेको स्वच्छ ऊर्जामा १२ प्रतिशत, लक्ष्य–१ मा रहेको गरिबीको अन्त्यमा ११ प्रतिशत आवश्यक हुने देखिएको छ ।

सन् २०२४–३० को समयमा औसतमा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४५ दशमलव ४ प्रतिशत लगानी आवश्यक हुने अनुमान रहेको कार्यक्रम निर्देशक पौडेलले बताए ।