काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) संस्थापक रामप्रताप थापाले मे ३ तारिख हुने एकता महाधिवेशनमा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पारेका छन् । उनले जारी गरेको विज्ञप्तिमा भनेका छन, ‘उच्चस्तरीय समितिमा मेरो नाम र तस्वीरको दुरुपयोग गर्दै विभिन्न सामाजिक सञ्जाल, समाचार माध्यम र ईमेलमार्फत भ्रम फैलाइएको छ- जसप्रति म गहिरो दुःख प्रकट गर्दछु ।’
‘संस्थाको स्थापना कालदेखि व्यक्तिगत स्वार्थभन्दा माथि उठी, नेतृत्वको आकांक्षा त्यागेर मैले एकताको लागि योगदान गरेको इतिहास साक्षी छ, विज्ञप्तिमा भनिएको छ, ‘संस्थाभित्रको बृहत् एकताको निम्ति म सधैं इमान्दार र लचिलो रहँदै आएको छु र आगामी दिनहरूमा पनि रहनेछु। आपसी छलफल र संवादद्वारा अहिलेको समस्याको समाधान गर्न सकिन्छ भन्ने मा म अझै विश्वस्त छु।’
‘संघको आन्तरिक विषयमा सर्वोच्च अदालतले गत वर्ष दिएको एकताको ऐतिहासिक फैसला तथा त्यसपछि साउन महिनामा आएको दोस्रो आदेशलाई आत्मसात गर्दै अघि बढ्नु पर्ने बेला—दुर्भाग्यवश ती निर्णयहरूलाई आ–आफ्नै स्वार्थअनुसार तोडमोड गरी व्याख्या गरिनु अत्यन्त दुःखद र दुर्भाग्यपूर्ण छ। यही क्रममा आगामी मे ३ तारिख आयोजना हुने भनिएको एकता महाधिवेशनमा मेरो कुनै पनि संलग्नता नरहेको स्पष्ट पार्दै यसबारे भ्रममा नपर्न हार्दिक अनुरोध गर्दछु’ विज्ञप्तिमा भनिएको छ ।
उनले गैरआवासीय नेपाली संघको विधान, सर्वोच्च अदालतका दुवै निर्णयको मर्म र भावना अनुरूप संस्थामा दीर्घकालीन र समावेशी एकता स्थापित होस् भन्ने आकांक्षासहित आआफ्नो ठाउँबाट सक्दो पहल गर्न म नेपाल सरकार लगायत संसारभरि रहनु भएका सम्पूर्ण गैरआवासीय नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा अपिल गरेका छन् ।


प्रतिक्रिया