कांग्रेस महामन्त्री थापासँग एनआरएनए प्रतिनिधिमण्डलको भेट

कांग्रेस महामन्त्री थापासँग एनआरएनए प्रतिनिधिमण्डलको भेट


ग्लोब नेपाल
270
Shares

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) प्रतिनिधिमण्डलले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापासँग भेट गरेको छ । एनआरएनए अध्यक्ष डा. बद्री केसीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलसँगको भेटमा महामन्त्री थापाले महाधिवेशन अब वास्तविक एकताका लागि हुनुपर्ने र त्यसमा कोही छ्ट्न नहुने बताए ।

थापाले भने, “एनआरएनलाई मैले प्रारम्भदेखि नियालेको छु, यसलाई गैरराजनीतिक बनाउनुपर्छ र दलीयकरणबाट मुक्त गर्नुपर्छ ।” गैरआवासीय नेपाली ऐनको सन्दर्भमा केही सम्बन्धित ऐनहरुमा पनि संशोधन आवश्यक रहेकोले त्यसमा केही नेपाल ऐन संशोधनमार्फत अघि बढाउन आफूले सम्बन्धित समितिमा सुझाव दिएको बताए।

उनले एनआरएनएकै तर्फबाट मस्यौदा ल्याउन समेत आग्रह गरे। उनले भने, “अब बस्ने सदनबाट यसलाई पूर्णता दिन पहल गछौँ ।”

उक्त अवसरमा गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीले गैरआवासीय नेपाली नागरिकता दिन सुरु गरेको १८ महिना बितिसक्दा पनि त्यसको पूर्ण कार्यान्वयन नहुँदा गैरआवासीय नेपालीहरु समस्यामा परेको भन्दै संविधानमै रहेको आर्थिक सामाजिक र संस्कृतिक अधिकार प्रयोग गर्न नपाइएको जानकारी गराए ।

उनले भने, “हामी देश भन्दा टाढा छौँ, हामीहरु सडकमा उत्रेर आन्दोलन गर्ने अवस्थामा त छैनौँ तर हामी कम पीडित चाहिँ छैनौँ, सरकारले नै दिएको नागरिकता सरकारले नै चिन्दैन ।”

डा। केसीले अध्यादेशमा गैरआवासीय नागरिकता प्राप्तलाई १० वर्ष भिसा शुल्क नलाग्ने भनेर आएको व्यवस्थाले आफूहरुलाई अन्यायको महसुस भएको बताए ।

उनले भने, “नागरिकता र भिसा दुई फरक कुरा होइन तर त्यसलाई पनि फरक बनाई अध्यादेशमा दश वर्षको मात्रै भनेर संकुचन भएर आयो । विश्वभर फराकिलो कानून हुन्छ तर हाम्रोमा उल्टो भयो । नागरिकताको कारण लगानी, दोस्रो पुस्ता, संस्कृति आदानप्रदानमा समस्या छ । ”

डा केसीले गैरआवासीय नेपालीसंग सम्बन्धित गैरआवासीय नेपाली ऐन हाल परराष्ट मन्त्रालयमा राय सुझावको क्रममा रहेको भन्दै उक्त ऐनलाई संसदमार्फत प्रक्रियामा लगेर यथाशक्य छिटो ल्याउन समेत अनुरोध गरे।

एनआरएनए संस्थापक रामप्रताप थापाले कांग्रेस महामन्त्री गगनसँग गैरआवासीय नेपालीले प्राप्त गर्ने नागरिकता र शेष घलेको नेतृत्वमा रहेको उच्चस्तरीय समितिका बारेमा कुराकानी भएको जानकारी दिए । संस्थापक थापाले भने, ‘एनआरएनएप्रति महामन्त्री थापा धेरै जानकार र सकरात्मक रहेको मैले पाएँ ।’

भेटमा उपाध्यक्ष डा हेमराज शर्माले सरकार र राजनीतिक दलबाट हालसम्म भएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै एनआरएनएमा देखा परेको विवादका सन्दर्भमा स्पष्ट पारे ।

उनले भने, “परराष्ट्र मन्त्रालयले महाधिवेशन सार्न पत्राचार गरिसकेको छ । तर शेष घले समूहले ११ औँ कार्यसमितिलाई चिन्दै चिन्दैनौँ भन्छ, न त एनसीसीको निर्वाचन भएको छ न त सदस्यता विधानतः छ ।”

उपाध्यक्ष रोशन थापाले संस्थामा जितेर पनि जितेको महसुस गर्न नपाइएको गुनासो गरे । उपाध्यक्ष रोजिना प्रधान राईले संस्थालाई राजनीतिकरण गर्न नहुने धारणा राखिन् ।

आइसीसी सदस्य चिरन शर्माले विदेशमा जनसम्पर्क समितिमा भएको समस्याले एनआरएनएलाई पनि प्रभाव परेकोले त्यता ध्यान दिन सुझाव दिए । एनसीसी बेल्जियमका निवर्तमान अध्यक्ष खड्कबहादुर केसीले एनआरएनएभित्रको समस्या समाधानका लागि राजनीतिक दलको भूमिकाबारे ध्यानाकर्षण गराए।

ओसनियाका क्षेत्रीय संयोजक दिनेश पोखरेलले एकता महाधिवेशनको नाममा विधान विपरित भइरहेको काम रोक्न पहल गर्न आग्रह गरे ।

भेटमा अध्यक्ष डा। बद्री केसी, उपाध्यक्षत्रय डा। हेमराज शर्मा, रोजिना प्रधान राई, रोशन थापा,सचिव राधिका ९टीका० गुरुङ, सह–कोषाध्यक्ष कृष्णप्रसाद तिमिल्सेना, संस्थापक नेता रामप्रताप थापा, सल्लाहकार चिरन्जीबी ढकाल, एनसीसी बेल्जियमका पूर्वअध्यक्ष खड्क बहादुर केसी,संघका सिइओ राजेन्द्र कुमार राउत,सञ्चार तथा वैदेशिक रोजगार अधिकृत इन्द्रलक्ष्मी घिमिरेलगायतको उपस्थिति रहेको थियो ।