काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक चिरञ्जीवी ढकालले हाल चर्चामा रहेको एकता अधिवेशनसम्बन्धी घटनाक्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । नेपालको समृद्धिको परिकल्पनासहित दुई दशकअघि स्थापना गरिएको यस संघभित्र नेतृत्वका लागि देखिएको होडबाजीले संस्थालाई गम्भीर संकटमा पु¥याएको ढकालको निष्कर्ष छ।
उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘संस्थाको १०औं महाधिवेशनमा देखिएको विवादसम्बन्धी विषयमा सम्माननीय सर्वोच्च अदालतले दिएको दुईवटा फैसलाको भावना विपरीत संघको एकता महाधिवेशन आगामी मे ३ तारिखका लागि तोकिएपछि उत्पन्न विवादले संस्थालाई विभाजनको संघारमा पुर्याएको मेरो ठहर छ।’
‘नेपाल सरकारको परराष्ट्र मन्त्रालयमा दर्ता रहेको गैरआवासीय नेपाली संघसम्बन्धी अधिवेशनप्रति मन्त्रालयले समेत चासो व्यक्त गर्दै एकता अधिवेशन ६ महिनाका लागि सार्न सर्वोच्च अदालतमा निवेदन दिएको छ। तर सो निवेदनको समेत वेवास्ता गर्दै संघका पूर्वअध्यक्ष शेष घलेले एकल रुपमा अधिवेशन गर्न खोज्नु निन्दनीय कार्य हो’, उनले विज्ञप्तिमा भनेका छन्– ‘विदेशमा रहेका संघका सबै राष्ट्रिय समिति, संस्थापक सदस्यहरू, वर्तमान कार्यसमिति र सर्वोच्च अदालतको भावनाविपरीत हुने कुनै पनि एकतापूर्ण अधिवेशनको औचित्य छैन।’
संघको विधानअनुसार संस्थाको १२औं महाधिवेशन आगामी अक्टोबर महिनामा सम्पन्न गर्न उनले अपील गरेका छन् ।
प्रतिक्रिया