भारतको ओडिसास्थित केआइआइटी विश्वविद्यालयमा पुन: नेपाली छात्रा मृत फेला

भारतको ओडिसास्थित केआइआइटी विश्वविद्यालयमा पुन: नेपाली छात्रा मृत फेला

घटना शंकास्पद भन्दै छानविनको माग


ग्लोब नेपाल
567
Shares

काठमाडौं । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयमा अर्की एक नेपाली छात्रा मृत भेटिएकी छन् ।

बिहीबार नेपाली विद्यार्थी कलेजको होस्टेलमा मृत फेला परेकी हुन् । केआइआइटीमा कम्प्युटर विज्ञानकी प्रथम वर्षकी छात्रा प्रिशा साह मृत अवस्थामा फेला परेकी हुन् । घटनाको जानकारी पाउनासाथ प्रहरीको टोली घटनास्थलमा पुगेर अनुसन्धान थालेको जनाएको छ ।

केआईआईटीमा पहिलो वर्षको दोस्रो सेमेस्टर अध्ययनरत साह बिहीबार साँझ ८ बजे मृत फेला परेकी हुन् । कलेजको होस्टलमा उनलाई झुण्डिएको अवस्थामा फेला पारिएको थियो । उनले किन आत्महत्या गरिन् अहिलेसम्म त्यसको कारण भने बाहिर आएको छैन । प्रहरीले अनुसन्धान गरिरहेको छ ।

भारतको विद्यार्थी संगठन अखिल भारतीय विद्या परिषद् एबीभीपीले केआईआईटीमा नेपाली विद्यार्थी प्रिशा शाहको मृत्युका दोषीलाई कारबाही गर्न माग गरेको छ । घटनालाई अत्यन्त पीडादायी भन्दै एबीभीपी विज्ञप्ति जारी गर्दै केआईआईटीमा पुनः नेपाली विद्यार्थीले आत्महत्या गर्न बाध्य हुनु लज्जास्पद भएको बताएको छ । एबीभीपी भारतरको सबैभन्दा ठूलो विद्यार्थी संगठन हो ।

एकै प्रकृतिको घटना बारम्बार हुँदा पनि राज्य सरकार मौन रहेको भन्दै एबीभीपीले केआईआईटीविरूद्ध तत्काल कडा कारबाही गर्न माग गरेको छ । गत फागुन ४ मा केआइआइटीमा अध्ययनरत २० वर्षीया नेपाली विद्यार्थी प्रकृति लम्साल पनि होस्टेलमा मृत फेला परेकी थिइन् ।