कोशी लगानी सम्मेलनमा १ खर्ब ५२ अर्ब २६ करोड रुपैयाँको प्रतिबद्धता

कोशी लगानी सम्मेलनमा १ खर्ब ५२ अर्ब २६ करोड रुपैयाँको प्रतिबद्धता


ग्लोब नेपाल
621
Shares

विराटनगर । बिहीबार र शुक्रबार सञ्चालन भएको कोशी प्रदेश लगानी सम्मेलनमा १ खर्ब ५२ अर्ब २६ करोड रुपैयाँको लगानी प्रतिबद्धता आएको छ । ऊर्जा, हस्पिटालिटी, कृषि उद्योग र सेवा क्षेत्रमा उद्यमीले लगानीमा चासो देखाएका छन् । लगानी बोर्डका कार्यकारी प्रमुख सरोज कोइरालाका अनुसार ४६ वटा योजनामा लगानीका लागि हस्ताक्षर भएको छ ।

देउमाइ कृषि फार्मिङमा केपी सिटौलाले २२ करोड रुपैयाँ लगानी भित्रिसकेको बताइएको छ । बराह क्षेत्रमा रहेको टरमेटिक प्रोडक्सन एन्ड प्रोसेसिङ सेन्टरमा केशव घिमिरेले १९ करोड रुपैयाँ लगानी गर्ने भएका छन् । यो कम्पनीले बेसार उत्पादन गर्छ । यस्तै ग्रीन यार्ड एग्रो फर्ममा गिरीराज बस्नेतले ४५ करोड रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएका छन् ।

इलाममा एडभान्स सिटी नेपाली टि एन्ड कफी प्रोसेसिङ कम्पनीमा कुसुम ढकालले ८० करोड रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । छुर्पी उत्पादनका लागि नेत्रप्रसाद भण्डारीले १८ करोड रुपैयाँ र ओसियन ट्रेडिङ प्रा.लिमा राजन शर्माले २७ करोड रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएका छन् ।

धनकुटामा स्थापना हुने किबी फार्मिङ एन्ड प्रोसेसिङमा विष्णु अग्रवालको लगानी रहने छ भने धनकुटामै स्थापना हुने एभोकाडो फार्मिङमा जितेन्द्र भट्टराईले ६४ करोड रुपैयाँ लगानी गर्ने छन् । यस्तै सुनसरीमा स्थापना हुने पशुपति इनर्जी प्रोजेक्टमा शारदा गू्पको १ अर्ब ६० करोड रुपैयाँ लगानी रहनेछ ।

उदयपुरमा स्थापना हुने एग्रो भोल्टास सोलार परियोजनामा राजेन्द्र श्रेष्ठले ५ अर्ब लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । पाँच खपन हाइड्रो प्रोजेक्टमा राजन निरौलाले १ अर्ब ४२ करोड रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएका छन् भने प्रेसिडेन्ट एग्रो टिमा शम्भुबाबु कोइरालाको २० करोड रुपैयाँ लगानी रहने छ ।

मोरङमा स्थापना हुने शिवशक्ति बाइयो टर्चमा अवन्तराम खतिवडाको २७ करोड, हर्बल प्रोसेसिङ प्लान्ट प्रोजेक्टमा उदय बरालको १ अर्ब १६ करोड, कोदाको रक्सी प्रोजेक्टमा बेलायत निवासी जनक राईको ४ करोड, बायो फरदर रिप्रोजेक्टमा प्रदीपको ६० करोड, केयर एग्रिरिसर्च सेन्टरमा मनिस सापकोटाले १ अर्ब लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । यो सेन्टरले सिमल तरुलको उत्पादन र प्रवद्र्धन गर्नेछ ।

दीघायु एग्रो प्रोसेसिङमा ९ करोड रुपैयाँ लगानी आउने छ भने उदयपुरमा स्थापना हुने क्लिकर प्रोजेक्टमा सन्तोषमणि न्यैपानेले ३२ अर्ब लगानी जुटाउने प्रतिबद्धता जनाएका छन् । यसैगरी सुनसरी र उदयपुरमा स्थापना हुने ग्रिन युरिया प्रोजेक्टमा गदनबहादुर ढुंगानाले २६ अर्ब र धनकुटा र उदयपुरमा स्थापना हुने बायो इथानल प्रोजेक्टमा बाबुराम गौतम र बेदप्रसाद खरेलले ४ अर्ब रुपैयाँ लगानी जुटाउने प्रतिबद्धता जनाएका छन् ।

मोरङ विद्युत गाडी जडान प्रोजेक्टमा टिकाराम पुरीले ३ अर्ब, मल्टी चेम्बर कोल्ड स्टोरमा सलज पाण्डेले १५ करोड, आरआर इन्टरनेशनल हस्पिटलका लागि राजेन्द्र राउतले २ अर्ब ४८ करोड रुपैयाँ जुटाउने प्रतिबद्धता जनाएका छन् । एक्सिज हस्पिटालिटीमा विजया चौधरीले १ अर्ब ३० करोड रुपैयाँ, पाँच तारे होटल अस्टेज होटलमा १ अर्ब ७५ करोड रुपैयाँ लगानी प्रतिबद्धता भएको छ । उदयपुरमा स्थापना हुने बलुवा बर्नसका लागि कमलबहादुर कार्कीले १८ करोड रुपैयाँ जुटाउने प्रतिबद्धता जनाएका छन् ।

बराह क्षेत्र केवल कार परियोजनाका लागि अरुण सुवेदीले १६ अर्ब रुपैयाँ जुटाउने प्रतिबद्धता जनाएका छन् भने भेडेटार मल्टिपल प्रोजेन्डमा शैलेन्द्र मण्डलले ३० करोड लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । कोशी पिडवे प्रोजेक्टरमा अस्कर डभोलले ५ अर्ब, मुखुच लिम्चुङवुङ हलेसी पिडवेमा पुजन चौधरीको १० अर्ब रुपैयाँ लगानी रहने छ ।

श्याम प्रसाई र राजाराम शर्माले दीघायु विजनेश ग्रुपको तर्फबाट ४० करोड रुपैयाँ लगानी गर्ने छन् भने ताप्लेजुङमा माउन्टेन पिडवे प्रोजेक्टमा बसन्त रिमालले २५ अर्ब रुपैयाँ लगानी जुटाउने भएका छन् ।

इनरुवामा स्थापना हुने डिजिटल डाटा सेन्टर प्रोजेक्टमा अर्जुन सन्जेल र डिजिटल कोस प्रोजक्टमा नरेन्द्र पराजुलीले २२ करोड, वाटर म्यानेजमेन्ट सेन्टर सुनसरीका लागि राजाराम शर्माले १० करोड रुपैयाँको प्रतिबद्धता जनाएका छन् । भेडेटार एस्टेक रिर्सोटका लागि पुन्य भट्टराईले १८ करोड रुपैयाँ लगानी गर्ने भएका छन् ।

मोरङमा स्थापना हुने रोयल टाउन होटलका लागि प्रत्युस राउतले २ अर्ब ३३ करोड रुपैयाँ, झापामा स्थापना हुने बिग हाउसिङ प्रोजेक्टका लागि रामकुमार काफ्लेले ६० करोड रुपैयाँ, बरजुताल टुरिजम प्रोजेक्टका लागि रोजिना राई प्रधानले ४ अर्ब २८ करोड, रसताल टुरिजम प्रोजेक्टका लागि ८० करोड रुपैयाँ, वाटर पार्क प्रोजेक्टका लागि सरोज आचार्यले २५ करोड रुपैयाँ, राजाताल टुरिजम प्रोजेक्टका लागि प्रभात आचार्यले ३५ करोड, बुढीजंगा पार्क प्रोजेक्टका लागि मन्दिप दाहाल, राजारानी टुरिजम प्रोजेक्टका लागि सुवास प्रधानले लगानी गर्ने प्रतिबद्धता जनाएका छन् ।