भारतले नेपाली भूमिमा तटबन्ध बनायो, सरकार चुप

भारतले नेपाली भूमिमा तटबन्ध बनायो, सरकार चुप


ग्लोब नेपाल
729
Shares

दार्चुला । भारतले दार्चुलास्थित महाकाली नदीमा नेपाली भूमिमा तटबन्ध निर्माण गरिरहेको छ । तर, नेपालले उक्त तटबन्धको निर्माण रोक्न भारतीय पक्षलाई भनेको छैन ।
भारतले दार्चुला सदरमुकाम खलङ्गास्थित वीरेन्द्र वनको पारिपट्टि नेपाली भूमिमा धमाधम तटबन्ध बनाइरहेको छ ।

महाकाली नदीको गल्फैपारि र खुलामञ्चपारिको उक्त जमिन नेपालको भए पनि ११ वर्षअघि आएको बाढीले भारततर्फ परेको थियो । एमाले दार्चुलाले नेपाली भू-भागमा भारतीय पक्षबाट एकतर्फी रूपमा तटबन्ध निर्माण भइरहेकाले त्यसलाई अविलम्ब रोक्न कूटनीतिक पहल थाल्नुपर्ने माग गर्दै प्रमुख जिल्ला अधिकारी अनिल पौडेल समक्ष ज्ञापनपत्र बुझाएको छ ।

एमाले दार्चुला अध्यक्ष ज्ञानेन्द्र घर्तीले नदीको धार नै परिवर्तन हुने गरी तटबन्ध निर्माण भएकाले कूटनीतिक पहलमार्फत रोक्न माग गर्दै प्रजिअमार्फत परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण गराउन ज्ञापनपत्र बुझाइएको बताए ।

भारतले अन्तरराष्ट्रिय सीमारेखा मिचेर तटबन्ध निर्माण गरिरहेको उनको भनाइ छ । तटबन्धका निर्माणको विषयमा आफूले सम्वद्ध पक्षलाई पत्राचार गरी जानकारी गराएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । यस्तै उनले भारतीय समकक्षीहरुसँग आफू नियमित सम्पर्कमा रहेको दाबी पनि गरे ।