काठमाडौं । भारतको ओडिसा स्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली विद्यार्थी प्रिसा साहको रहस्यमय मृत्यु भएपछि सभामुख देवराज घिमिरेले सरकारलाई घटनाको सत्यतथ्य पत्ता लगाउन निर्देशन दिएका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा यो विषय उठाइएपछि सभामुखले भारतसँग उच्चस्तरीय कूटनीतिक संवाद अघि बढाउन, पीडित परिवारलाई न्यायिक सहयोग गर्न र विदेशमा अध्ययनरत नेपाली विद्यार्थीहरूको सुरक्षाको लागि दीर्घकालीन नीति बनाउन आग्रह गरेका छन् ।
प्रिसा साह झुण्डिएको अवस्थामा मृत भेटिएकी हुन् । केआईआईटीमा अघिल्लो वर्ष प्रकृति लम्सालको मृत्यु पछि दोस्रो पटक नेपाली विद्यार्थीको रहस्यमय मृत्यु हो । सभामुख घिमिरेले यसलाई राष्ट्रिय संवेदनशील विषय बताउँदै सरकारले तुरुन्त कारबाही गर्नुपर्ने बताएका छन् ।
बैठकमा सांसदहरूले पनि यस विषयमा गम्भीर चिन्ता व्यक्त गरेका थिए । कांग्रेसका सांसद रामकृष्ण यादवले घटनाको छानबिन गरी दोषीहरू प्रति कारबाही गर्न माग गरेका थिए भने माओवादीका देवेन्द्र पौडेलले विदेशमा पढ्न जाने नेपाली विद्यार्थीहरूको सुरक्षामा सरकारले ध्यान दिनुपर्ने बताएका थिए ।
केआईआईटी विश्वविद्यालयमा हजारौं नेपाली विद्यार्थी अध्ययन गर्छन् । नेपाल सरकारले भारतीय प्रशासनसँग समन्वय गरी घटनाको पूर्ण अनुसन्धान गर्ने तयारी गरेको छ । यसैगरी विदेशमा पढ्न जाने नेपाली विद्यार्थीहरूको सुरक्षाको लागि नयाँ नीति बनाउने तयारी पनि चलिरहेको छ ।


प्रतिक्रिया