पब्जी मोबाइल एसियन च्याम्पियनशिप २०२५ : पाकिस्तान च्याम्पियन

पब्जी मोबाइल एसियन च्याम्पियनशिप २०२५ : पाकिस्तान च्याम्पियन

नेपाल ब्लु तेस्रो स्थानमा (DRS GAMING)



काठमाडौं । तीन दिनसम्म चलेको अन्तर्राष्ट्रिय प्रतियोगिता पब्जी मोबाइल एसियन च्याम्पियनशिप २०२५ सम्पन्न भएको छ। प्रतियोगिताको अन्तिम दिन सम्पन्न पाँच खेलहरूपछि पाकिस्तान १७३ अंकसहित च्याम्पियन बन्न सफल भएको छ । लगातार आक्रामक र रणनीतिपूर्ण प्रदर्शन गर्दै पाकिस्तानले उपाधि हात पार्दा इन्डोनेसिया १६९ अंकसहित दोस्रो स्थानमा सीमित भयो।

नेपालका लागि यस पटकको प्रतियोगिता संतोषजनक रह्यो । नेपाल ब्लु टोलीले १५ खेलमा ८३ प्लेसमेन्ट र ७१ एलिमिनेसन अंकसहित कुल १५४ अंक बटुल्दै तेस्रो स्थानमा रहन सफल भयो। यस्तै, नेपाल रेड टोलीले १३८ अंकसहित चौथो स्थान प्राप्त गर्‍यो भने नेपाल ह्वाइट टोलीले ७२ अंकसहित आठौं स्थानमा रह्यो।

प्रतियोगिताको सबैभन्दा मूल्यवान खेलाडी (MVP) को उपाधि पाकिस्तानका खेलाडी “फलक” ले जितेका छन्। उनले प्रतियोगिता भरि सर्वाधिक एलिमिनेसन गर्दै टिमलाई निर्णायक योगदान दिएका थिए। नेपाली खेलाडी “किलर वाइटि” ले पनि उत्कृष्ट प्रदर्शन गर्दै (mvp) सूचीको तेस्रो स्थानमा स्थान सुरक्षित गरे ।

पब्जी मोबाइल एसियन सोडाउन २०२५ मा कुल १० लाख रुपैयाँको पुरस्कार राशी वितरण गरिएको थियो। पाकिस्तानले विजेता टोलीको रूपमा ४ लाख रुपैयाँ प्राप्त गर्‍यो भने नेपाल ब्लुले तेस्रो स्थानको रूपमा १ लाख रुपैयाँ जित्यो। प्रतियोगिता ईस्पोर्ट्स संघ नेपालको व्यवस्थापनमा सम्पन्न भएको हो र सम्पूर्ण खेलहरू आधिकारिक युट्युब च्यानलमार्फत प्रत्यक्ष प्रशारण गरिएको थियो ।