डा. आरजु बिना चल्दैन पार्टी र सरकार

डा. आरजु बिना चल्दैन पार्टी र सरकार



काठमाडौं । परराष्ट्रमन्त्री तथा नेपाली कांग्रेस पार्टी सभापति शेरबहादुर देउवा पत्नी डा. आरजु राणा देउवा सरकार र पार्टी सञ्चालनमा हाबी छन् भन्ने कुरा नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिसले पुष्टि गरेको छ ।

सरकारमा नेपाली कांग्रेसको नेतृत्व गरेर गएका उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह थपना मात्र रहेछन भन्ने कुरा पनि पुष्टि गर्न बाँकी रहेन । कांग्रेसका तर्फबाट गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री डा. आरजुको सल्लाहमा सरकार गाइडेड छ भन्ने कुरा घटनाक्रमले देखाइसकेको छ ।

सरकार सञ्चालनमा डा. राणाको गाइडेड स्वभाविक मानिएको थियो । किनभने उनी यो सरकार निर्माणको प्रमुख स्टेकहोल्डर हुन् । बालकोट पुगेर एमाले अध्यक्ष केपी शर्मा र कांग्रेस सभापति देउवालाई ७ बुँदे सहमतिमा हस्ताक्षर गराउन उनको भूमिका महत्वपूर्ण थियो । त्यसैले राज्य सञ्चालनको हरेक निर्णयमा प्रधानमन्त्री ओलीले सत्तासाझेदार दल कांग्रेसको तर्फबाट मन्त्री आरजुलाई पहिलो प्राथमिकतामा राखे ।

मन्त्री आरजुले एमाले र प्रधानमन्त्री ओलीको छवी अन्तर्राष्ट्रिय जगत्मा चम्काउन धेरै मेहनत गरेकी छन् । विशेषतः प्रधानमन्त्री ओलीको भारतसँग बिग्रेको सम्बन्ध राम्रो बनाउन उनले प्रयास गरिन् । प्रधानमन्त्री ओलीको भारत भ्रमण सम्भव नभए पनि समकक्षी प्रधानमन्त्री नरेन्द्र मोदीसँग अमेरिका र थाइल्यान्डमा दुई पटक साइडलाइन वार्ता गराउन डा. आरजु सफल भइन् ।

प्रधानमन्त्री ओलीलाई डा. आरजुमार्फत् काम गर्दा सहज पनि भएको महसुस गरिन्छ । सरकारको हरेक निर्णय डा. आरजुमार्फत् कांग्रेस सभापति देउवाले अनुमोदन गरिरहेको जगजाहेर छ । कांग्रेसका अन्य दर्जाका नेता सरकारका विरोधमा बोल्दै सडकमा उफ्रिए पनि प्रधानमन्त्री ओलीलाई खासै फरक परेको छैन । बरु ति नेतालाई प्रधानमन्त्री ओलीले चुनौतिसहित जवाफ फर्काउने आँट गरेका छन् ।

प्रधानमन्त्री ओलीलाई यो आँट परराष्ट्रमन्त्री डा. आरजुमार्फत् नै प्राप्त भएको हो भन्न हिचकिच्याउनु पर्दैन । प्रधानमन्त्री ओलीले पनि मन्त्री डा. आरजुलाई नै महत्व दिएका छन् । यसैको परिणाम राष्ट्र बैंक गभर्नर सिफारिसमा देखियो । डा. आरजुको इच्छा विश्व पौडेललाई गर्भनर बनाउने थियो । नेपाली कांग्रेस तथा पार्टी सभापति देउवा ज्ञानेन्द्र ढुंगाना अथवा डा. गुणाकर भट्टमध्ये एकजनालाई गभर्नर बनाउन चाहन्थे । उनी कांग्रेसका सहयोगी र शुभचिन्तक हुन् ।

डा. आरजुको इच्छाविपरित गभर्नरमा ढुंगाना र भट्टको नाम आएपछि फागुन २४ गते नै नयाँ गभर्नर नियुक्त हुनुपर्नेमा दुई महिनाभन्दा बढी विलम्ब भएको छ । गत शनिबार गृहमन्त्री लेखक र डा. आरजुले सभापति देउवालाई प्रधानमन्त्री निवास बालुवाटार प्रवेश गराएर गर्भनरमा विश्व पौडेलको नाम सिफारिस गर्न बाध्य बनाइन् ।

सरकार सञ्चालनमा डा. आरजु हाबी छँदैथिइन्, कांग्रेसमा पनि उनी शक्तिशाली छन् भन्ने प्रमाण गभर्नर सिफारिसले देखाएको छ । कांग्रेसभित्र डा. आरजु कति शक्तिशाली छन् भन्ने कुराको मापन गर्ने बेला भइसकेको छैन । वर्तमान सत्ता गठबन्धनकै प्रधानमन्त्री साटफेर गर्नेबेला उनको भूमिका के हुन्छ त्यो महत्वपूर्ण हुने बताइएको छ । इलेक्टेड नभएर सेलेक्टेड सांसद भएकाले उनको योभन्दा अघि बढ्ने बाटो लगभग बन्द छ । तर शक्तिमा रमाउने राजनीतिक अभ्यासमा रहेकी डा. आरजु प्रथम महिलामा चित्त बुझाउलिन् भन्ने कुरामा धेरैले आशंका गरेका छन् ।