क्यानको सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिए सन्दीप

क्यानको सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिए सन्दीप



काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले नेपाल क्रिकेट संघको केन्द्रीय सम्झौतामा नरहने निर्णय गरेका छन् । बुधबार सामाजिक सञ्जालमार्फत् आफू सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिने निर्णय गरेको बताएका छन् ।

क्यानकाे सम्झौताअनुसार सन्दीप ‘ए’ ग्रेडमा थिए । उनले मासिक एक लाख पाउँथे । उनकाे निर्णय सम्झौता जुन महिनामा सकिनेछ ।

सन्दीपले लेखेका छन् :

धेरै सोचविचारपछि, म यस पटकका लागि क्रिकेट संघ (क्यान) अन्तर्गतको केन्द्रीय अनुबन्धन (Central Contract) नबढाउने निर्णयमा पुगेको छु । यो निर्णय क्रिकेट वा मेरो देशबाट टाढा हुने होइन—यो व्यक्तिगत र व्यावसायिक रूपमा अझ परिपक्व बन्ने यात्राको एउटा पाइलो हो ।

मेरो क्रिकेट यात्रामा निरन्तर साथ र समर्थन गरेकोमा म क्रिकेट संघ (क्यान) प्रति गहिरो कृतज्ञता व्यक्त गर्न चाहन्छु । नेपालको क्रिकेट र मेरो व्यक्तिगत विकासमा क्यान को भूमिका अत्यन्तै महत्वपूर्ण रहँदै आएको छ ।

स्पष्ट हुन चाहन्छु म नेपालका लागि खेलिरहन्छु, सधैँ झैं उस्तै जोश, उत्साह र समर्पणका साथ । यो गौरव र जिम्मेवारी सधैं मेरो हृदयमा रहनेछ । जीवन भनेको विभिन्न मोड र जिम्मेवारीहरूको यात्रा हो । अझै धेरै कुरा सिक्न बाँकी छ, धेरै दिन बाँकी छ, र धेरै बन्न बाँकी छ । म आगामी यात्राप्रति उत्साहित छु—क्रिकेटसँगै, र त्यस बाहेक पनि । मेरो देशप्रतिको निष्ठा र क्रिकेटप्रतिको मोह सधैं मेरो कामको मूल आत्मा बन्नेछ ।

कहिलेकाहीँ केही निर्णय छुट्टिन होइन, बढ्नका लागि गरिन्छ।यात्रा जारी छ—नयाँ ऊर्जा र खुला मनका साथ।सधैं ममाथि विश्वास राख्नु भएकोमा धन्यवाद ।