गुठी समस्या समाधानका लागि विधेयक ल्याउन सांसद सापकोटाको माग

गुठी समस्या समाधानका लागि विधेयक ल्याउन सांसद सापकोटाको माग



काठमाडौं । देशभरि गुठीसम्बन्धी समस्याबाट लाखौं नागरिक प्रभावित भइरहेका बेला नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले तत्काल गुठी विधेयक ल्याउन सरकारसँग आग्रह गरेका छन्।

प्रतिनिधिसभाको सोमबारको बैठकमा सून्य समयमा बोल्दै सांसद सापकोटाले गुठी व्यवस्थापनका सम्बन्धमा विद्यमान अन्योल र विवाद समाधान गर्न कानून निर्माण आवश्यक रहेको बताए।

‘जसको चोट उसैलाई थाहा हुन्छ भनेजस्तै गुठीको पीडा भोग्नेलाई बढ्ता थाहा छ,’ सांसद सापकोटाले भने, ‘देशैभरका लाखौं नागरिक गुठी समस्याबाट प्रभावित छन्। त्यसैले समस्या समाधानका लागि तत्काल गुठी विधेयक ल्याइनुपर्छ।’

उनले आफ्नो निर्वाचन क्षेत्र सिन्धुपाल्चोकमा मात्रै १४६ वटा नाममा गुठी दर्ता रहेको जानकारी दिँदै तीमध्ये धेरैजसो गुठी विवादित अवस्थामा रहेको बताए। उनले गुठी व्यवस्थापनका लागि विस्तृत अध्ययनसहित विधेयक ल्याउन सभामुखमार्फत सरकारसँग माग गरे।

गुठीका नाममा भइरहेका दोहोरो दर्ता, अतिक्रमण र सम्पत्ति व्यवस्थापनमा देखिएको अन्योल समाधान गर्न गुठी विधेयक प्रभावकारी हुने सांसद सापकोटाको भनाइ थियो।