पालिकाको असहमति बेवास्ता गर्दै निलम्बित सांसद बस्नेतले गरे योजना उद्घाटन

पालिकाको असहमति बेवास्ता गर्दै निलम्बित सांसद बस्नेतले गरे योजना उद्घाटन



काठमाडौं । भ्रष्टाचार मुद्दामा मुछिएर निलम्बनमा परेका सांसद मोहनबहादुर बस्नेतले स्थानीय सरकारको असहमति हुँदाहुँदै पनि सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिकामा खानेपानी योजना उद्घाटन गरेका छन्।

कार्यकर्ताको नाराबाजी, मोटरसाइकल र गाडीको लावालस्करसहित वडा नं. २ स्थित निगाले नारगाउँमा पुगेका बस्नेतले तामझामका साथ योजना उद्घाटन गरेका हुन्। सो वडामा नेपाली कांग्रेसले विजय हासिल गरेको छ।

गाउँपालिका अध्यक्ष राजु लामाले उद्घाटन अघि नै सार्वजनिक रूपमा चेतावनी दिँदै भ्रष्टाचार आरोपमा निलम्बित व्यक्ति उद्घाटनमा संलग्न हुनु अनुचित रहेको उल्लेख गरेका थिए। साथै, पालिकाको सहमतिबिना आयोजना उद्घाटन नगरिने प्रष्ट पारेका थिए।

तर बस्नेतले ती सबै चेतावनी बेवास्ता गर्दै उद्घाटन गरेका छन्। पालिकाका अनुसार सो योजनामा बस्नेतको प्रत्यक्ष भूमिका पनि थिएन।