पटक–पटकको विभाजनले माओवादीलाई कमजोर बनायो : प्रचण्ड

पटक–पटकको विभाजनले माओवादीलाई कमजोर बनायो : प्रचण्ड



काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पटक–पटक विभाजनले माओवादी आन्दोलनलाई कमजोर बनाएको भन्दै अब माओवादी धाराहरूबीच एकता अपरिहार्य भएको बताएका छन्।

माओवादी केन्द्रले सञ्चालन गरेको जनतासँग माओवादी–मध्यपहाडी लोकमार्ग जनजागरण अभियान अन्तर्गत रुकुमपूर्वको सिस्ने गाउँपालिकामा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले जनयुद्धमा बलिदान दिने शहीद, बेपत्ता योद्धाका परिवार, घाइते तथा अपाङ्ग योद्धाहरूको पीडा र अपेक्षा बुझ्न आफू अभियानमा निस्किएको उल्लेख गरे।

उनले भने, “हामीले गल्ती पनि गरेका छौं, तर अब ती गल्तीहरूबाट पाठ सिकेर माओवादी आन्दोलनलाई सशक्त बनाउन एकताको बाटो रोज्नैपर्छ।”

उनका अनुसार यही जेठ १२ गते नेकपा (माओवादी केन्द्र) र नेपा राष्ट्रिय पार्टीबीच एकता घोषणा हुने तयारी भइरहेको छ। बाबुराम भट्टराईसहित विभिन्न समयमा अलग भएका नेताहरूलाई पनि विचार र सिद्धान्तको आधारमा पुनः एकताबद्ध गर्ने पहल अघि बढिरहेको प्रचण्डको भनाइ थियो।

प्रचण्डले जनयुद्धकालीन सपनाहरू अपूर्ण रहेको उल्लेख गर्दै अहिलेको चुनौती भनेकै आन्दोलनका लक्ष्यहरूलाई संस्थागत गर्दै नयाँ पुस्तासँग सम्वाद गर्ने र माओवादी आन्दोलनलाई जनजीवनसँग जोड्ने रहेको बताए।

कार्यक्रममा उपस्थित स्थानीय नेता तथा जनप्रतिनिधिहरूले पनि माओवादी आन्दोलनको ऐतिहासिक योगदान स्मरण गर्दै अब विभाजनको अन्त्य गर्न नेतृत्व तहमा नयाँ सोच आवश्यक रहेको बताए।