काठमाडौं ।लमजुङमा नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलको जिल्ला अधिवेशन हिंसात्मक बन्न पुगेको छ। शनिबार भएको अधिवेशनको क्रममा उत्पन्न विवादले झडपको रूप लिँदा खुकुरी प्रहार भएको थियो। घटनामा संलग्न रहेको आरोपमा चार जनाविरुद्ध जिल्ला अदालत लमजुङले पक्राउ पुर्जी जारी गरेको छ।
तीन दिनसम्म पीडितले जाहेरी नदिएको विषयमा चौतर्फी आलोचना भएपछि चौथो दिन जाहेरी दर्ता भएको हो। त्यसको आधारमा जिल्ला अदालतले पक्राउ आदेश जारी गरेको हो। प्रहरीले पक्राउ पुर्जी जारी गरिएका व्यक्तिहरूको नाम सार्वजनिक गरेको छ। उनीहरूमा मध्यनेपाल नगरपालिका–७ का ३८ वर्षीय धनसुब्बा तामाङ, राइनास नगरपालिका–६ का ४० वर्षीय गणेश गुरुङ, मर्स्याङ्दी गाउँपालिका–५ का ४२ वर्षीय कुमराशी गुरुङ र दोर्दी गाउँपालिका–४ का होमराज घले रहेका छन्।
उनीहरूमाथि फौजदारी संहिता २०७४ को दफा १८३ अनुसार ज्यान मार्ने उद्योगको अभियोग लगाइएको छ। उक्त धाराअनुसार दोषी ठहरिए १० वर्षसम्मको कैद सजाय र अधिकतम १ लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने व्यवस्था छ।
झडपमा चार जना कांग्रेससम्बद्ध व्यक्ति घाइते भएका छन्। तीमध्ये बेंसीसहर नगरपालिका–९ का वडाध्यक्ष तथा तरुण दलका क्षेत्रीय सभापति खुसीजंग गुरुङ र नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य सुदीप अधिकारी गम्भीर घाइते छन् र हाल चितवन मेडिकल कलेजमा उपचाररत छन्। अन्य दुई घाइते—कांग्रेसका जिल्ला कार्यसमिति सदस्य किशोरजंग बस्नेत र तरुण दलका सदस्य शंकर सापकोटाको उपचार लमजुङमै भइरहेको छ।
घटनालाई लिएर राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ। नेपाली कांग्रेसको १३औं महाधिवेशनपछि देखिएको आन्तरिक शक्ति संघर्ष, विशेषतः गण्डकी प्रदेशका अर्थमन्त्री डा. टकराज गुरुङ र वन तथा वातावरणमन्त्री भेषबहादुर शाहीबीचको प्रतिस्पर्धा, तरुण दलको नेतृत्व चयनमा समेत प्रभाव पारिरहेको विश्लेषण गरिएको छ।
लमजुङबाट सुरु भएको तरुण दलको पाँचौं जिल्ला अधिवेशनको पहिलो दिनमै यस्तो हिंसात्मक घटना हुनु पार्टी अनुशासनमाथि गम्भीर प्रश्न उठाउने विषय बनेको छ।
प्रतिक्रिया