नेपाल एयरलाइन्सले रुम्जाटार सातामा दुई उडान भर्ने

नेपाल एयरलाइन्सले रुम्जाटार सातामा दुई उडान भर्ने



काठमाडौं । नेपाल एयरलाइन्सले ओखलढुंगाको रुम्जाटार विमानस्थलमा आउँदो आइतबारबाट सातामा दुईवटा उडान भर्ने भएको छ । ‘नेपाल एयरलाइन्सले सातामा एउटा उडान भर्ने गरेको थियो, यो साताबाट दुईवटा उडान भर्ने कार्यतालिका छ,’ नेपाल एयरलाइन्सका रुम्जाटार स्टेशन इन्चार्ज लोकेन्द्र चन्दले भने, ‘यो साताबाट नेपाल एयरलाइन्सले प्रत्येक आइतबार र बुधबार उडान भर्नेछ ।’

यात्रु बोकेर जहाज काठमाडौंबाट बिहान ६ः१५ मा उड्नेछ । रुम्जाटार एयरपोर्टमा अवतरण गरेको झन्डै १० मिनेटपछि यात्रु बोकेर जहाज काठमाडौं फर्किने इन्जार्च चन्दले जानकारी दिए । काठमाडौंबाट जाँदा १६ जना यात्रु बोक्ने र फर्किदा बढीमा १५ जना मात्र यात्रु लिएर फर्किने उनले बताए ।

अहिले वर्षाको सिजन भएकाले जहाज उड्नलाई मौसमले साथ नदिएको गुनासो इन्चार्ज चन्दको छ । ‘आज बुधबार उडान हुनुपर्ने जहाजलाई समेत मौसमले साथ नदिँदा उडान भर्न सकेन’ इन्चार्ज चन्दले भने, मौसमले साथ दिएको भए नियमित उडान भर्ने र छिट्टै रुम्जाटारमा कार्यालय व्यवस्थापन गर्न सजिलो हुने थियो ।’

ओखलढुंगाबाट प्रतिनिधित्व गर्ने संघीय सांसद तथा राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले रुम्जाटारमा कार्यालय स्थापनाका लागि सहजीकरण गरिरहेको इन्चार्ज चन्दले बताए । विस्तारै कार्यालय र कर्मचारीको व्यवस्थापन हुनेछ, उनले भने, ‘यात्रुको आवश्यकतालाई ध्यानमा राखेर नेपाल एयरलाइन्सले उडान थपेको हो । यसका लागि सबैतिरको सहयोग आवश्यक पर्छ ।’

यो पनि हेर्नुस्

नेपाल एयरलाइन्सको रुम्जाटार उडान बिहीबार बिहान, समिट एयरले पुनः दशै अघि उडान भर्ने

रुम्जाटार विमानस्थल र रामहरि खतिवडाको प्रयत्न