बालेनले प्रवक्ता मानन्धरसँग मागे स्पष्टीकरण, ७ दिनको समय

बालेनले प्रवक्ता मानन्धरसँग मागे स्पष्टीकरण, ७ दिनको समय



काठमाडौं । महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले महानगरका प्रवक्ता तथा वडा नम्बर १७ का अध्यक्ष नविन मानन्धरसँग स्पष्टीकरण मागेका छन्।

मेयर साहले सार्वजनिक रूपमा मिडियामा व्यक्त विचारले आफ्नो व्यक्तिगत चरित्र र सामाजिक प्रतिष्ठामा आँच पुर्‍याएको आरोप लगाउँदै ७ दिनभित्र चित्तबुझ्दो स्पष्टीकरण दिन निर्देशन दिएका हुन्। मानन्धर हालसम्म प्रवक्ताकै जिम्मेवारीमा छन्।

मानन्धरले प्रतिक्रिया दिँदै भने, “म विभिन्न मिडियामा बोलेको छु, तर त्यो मेरो व्यक्तिगत धारणा हो। मेयर साबले त्यसलाई चरित्र हत्या ठानेर स्पष्टीकरण माग्नुभएको रहेछ।”

उनले हालसम्म औपचारिक पत्र नपाएको र नगर प्रहरीले जानकारी दिएको बताएका छन्। “मैले अझै पत्र पाएको छैन, तर जानकारी आएको छ। साथीभाइसँग सल्लाह गरेर जवाफ दिनेछु,” उनले थपे।

यसअघि, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंमाथि लागेको भ्रष्टाचार आरोपपछि कार्यालय प्रवेशमा रोक लगाइएको थियो। तर, गुरागाईंलाई कार्यकक्षमा फर्काउने प्रक्रियामा पनि मानन्धरको समन्वयकारी भूमिका देखिएको थियो।

यस विषयमा मेयर साहको सचिवालयसँग सम्पर्क गर्न खोज्दा फोन उठाइएको थिएन।