काठमाडौं । काठमाडौंको तीनकुनेमा चैत १५ गते राजावादीहरूले गरेकाे आन्दोलनको घटनाका अभियुक्तविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले ६२ जनालाई प्रतिवादी बनाएर आइतबार जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।
रवीन्द्र मिश्र, धवलशमशेर राणा, दुर्गा प्रसाईंसहितका ६२ जनालाई प्रतिवादी बनाइएको मुद्दा दर्ताको प्रक्रियामा रहेको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख रामहरि शर्मा काफ्लेले ६२ प्रतिवादीविरुद्ध आज अभियोजन भएको जानकारी दिए ।
बाँकी तीन नाबालक प्रतिवादीविरुद्ध सोमबार मुद्दा दायर हुने उनले जानकारी दिए । काफ्लेका अनुसार तीन नाबालकसहित कुल प्रतिवादी ६५ हुनेछन् ।
६२ जनामध्ये ५० जनाविरूद्ध राजद्रोहको मुद्दा दर्ता प्रक्रियामा छ । त्यसबाहेक ११ जनाविरूद्ध आपराधिक उपद्रव कसुरमा मुद्दा दर्ता हुने भएको हो ।
यसमध्ये राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणाविरूद्ध पनि राजद्रोहमा मुद्दा दर्ता भएको हो । त्यस्तै गरी दुर्गा प्रसाईंसहित आठ जनाविरूद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको हो । प्रसाईंविरूद्ध आजीवन कारावासको माग गरिएकाे छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंले १०८ जनाविरूद्ध मुद्दा चलाउन राय दिएको थियो । त्यसमा अभियोजन गरी सरकारी वकिलले ६२ जनाविरूद्ध मुद्दा चलाउन दर्ता गरेकाे हो । प्रहरीले उनीहरूमाथि संगठित अपराधमा अनुसन्धान गरिरहेको थियो ।
प्रतिक्रिया