कमल थापा भन्छन्: हृदयेन्द्रमा सहमति भए ज्ञानेन्द्रले मान्नैपर्छ

कमल थापा भन्छन्: हृदयेन्द्रमा सहमति भए ज्ञानेन्द्रले मान्नैपर्छ



काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राजतन्त्रको विषयमा सबैको सहमति स्वीकार गर्नुपर्ने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले बताएका छन्।

मंगलबार राजधानीमा आयोजित सम्पादकहरूसँगको छलफलमा बोल्दै थापाले हृदयेन्द्र शाहको नाममा सहमति भएमा ज्ञानेन्द्रले पनि त्यसलाई स्वीकार गर्नु आवश्यक रहेको तर्क गरे। राजतन्त्र कुनै व्यक्तिमा केन्द्रित होइन, यो एउटा विचार हो, थापाको भनाइ थियो।

पत्रकारले पारस शाह र ज्ञानेन्द्रप्रति आशंका व्यक्त गर्दै सोधेको प्रश्नमा उनले भने, ‘हृदयेन्द्रका नाममा सहमति जुटे ज्ञानेन्द्रजीले स्वीकार गर्नुपर्छ। यो उत्तराधिकारको कुरा हो, विचारको निरन्तरता हो, न कि व्यक्तिगत चाहनाको।’

थापाले अल्पसंख्यक आवाज उठाउन जनप्रदर्शन प्रभावकारी हतियार भएको उल्लेख गर्दै संविधान संशोधनको पक्षमा जनदबाब सिर्जना गर्न राप्रपा नेपालसहित राजावादीहरू जुटिरहेको जानकारी गराए।

उनका अनुसार राजसंस्थाको पुनर्स्थापनासँगै संविधानमा आवश्यक सुधारका लागि आवाज उठाइँदैछ, र त्यसलाई संस्थागत गर्न जनस्तरबाटै दबाब निर्माण गरिँदैछ।