काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भोलि हुने राजावादी आन्दोलनमा कसैले अवरोध गर्न खोजे खुला प्रतिकार गरिने बताएका छन्।
प्रधानमन्त्री ओलीले एमाले कार्यकर्ताले काठमाडौँ कब्जा गर्ने भन्ने भनाइपछि स्थिति झनै संवेदनशील बन्दै गएको छ। सोही सन्दर्भमा लिङ्देनले बुधबार पत्रकार सम्मेलन गरेर कसैले कार्यक्रम विथोल्न खोजे चुप नबस्ने चेतावनी दिएका हुन्।
उनले भने, “हामी शान्तिपूर्ण कार्यक्रम गर्दैछौं, तर कसैले ढुंगा हान्न खोजे, भिड पार्न खोजे भने छेउछाउमा भएका साथीहरूले तुरुन्त नियन्त्रणमा लिनुहोस्।”
कार्यक्रममा सरकार पक्षबाट घुसपैठ हुनसक्ने आशंका उनले व्यक्त गरे। “हाम्रो आफ्नै साथी पनि जोशमा आउन सक्छ, उसलाई सम्झाउनुस्,” भन्दै उनले सबै कार्यकर्तालाई अनुशासन र सतर्कता अपनाउन निर्देशन दिए।
उनले थपे , “हामीले हिंसा गर्ने योजना बनाएका छैनौं। तर, यदि सरकारले दमन गर्यो वा एमाले कार्यकर्ताले अवरोध गरे भने प्रतिकार हुनेछ।”


प्रतिक्रिया