काठमाडौं । सार्वजनिक यातायात बन्द गराउँदै हिँडेको आरोपमा प्रहरीले १५ जनालाई पक्राउ गरेको छ ।
१२ जना काठमाडौं, दुई जना पूर्वी नवलपरासी र एक जना लम्जुङबाट पक्राउ गरिएको प्रहरी प्रवक्ता एसएसपी रमेश थापाले जानकारी दिए । उनका अनुसार पक्राउ गरिएकाहरु को हुन् भन्ने बारेमा अझै पुष्टि हुन सकेको छैन ।
“राजावादी समूहले पनि बन्द आह्वान गरेका थिए, र, यातायात व्यवसायीले पनि,” उनले भने,“पक्राउ परेकाहरुको अनुसन्धान भइरहेको छ ।”
यातायात व्यवसायीहरूले गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङसम्बन्धी नियमावलीको विरोध गर्दै सार्वजनिक यातायात बन्द गराएका हुन् । सोमबारका लागि नवराज सुवेदी नेतृत्वको राजावादी समूहले पनि बन्द गर्ने घोषणा गरेको थियो ।
तर, आइतबार बेलुकी नै पक्राउ परेका नेताहरू कमल थापा, दिपक सिंह लगायत छुटेका थिए भने राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले बन्दमा आफूहरूको समर्थन नभएको बताएको थियो ।


प्रतिक्रिया