काठमाडौंं । फाइनलमा पञ्जाव किंग्सविरुद्ध ६ रनको जित निकाल्दै रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) ले इन्डियन प्रिमियर लिग (आईपीएल)–२०२५ को उपाधि जितेको छ । बेंगलुरु पहिलोपटक आईपीएल च्याम्पियन बनेको हो ।
मंगलबार अहमदाबादमा सम्पन्न खेलमा बेंगलुरुले दिएको १९१ रनको लक्ष्य पछ्याउने क्रममा पञ्जावले निर्धारित २० ओभर ब्याटिङ गरे पनि सात विकेट गुमाएर १८४ रन मात्र बनाउन सक्यो ।
पञ्जावका शंशाकं सिंहले सर्वाधिक ६० रन बनाए पनि टिमको हार टार्न सकेनन् । यस्तै, जस इंग्लिसले ३९, प्रभसिम्रन सिंहले २६ र प्रियान्स आर्याले २४ रन बनाएका थिए ।
बेंगलुरुका भुवनेश्वर कुमार र क्रुणान पन्ड्याले समान दुई विकेट लिए । यस्तै, यद दयाल, जस हेजलवुड र रोमारियो सेफर्डले समान एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङमा आएको बेंगलुरुले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १९० रनको योगफल खडा गरेको थियो ।
बेंगलुरुका विराट कोहलीले सर्वाधिक ४३ रन बनाए । कप्तान रजित पटिदरले २६ रन थप्दा लियम लिभिङस्टोनले २५ र मयंक अग्रवाल तथा जितेश शर्माले समान २४ रन थपे । रोमारियो सेफर्डले १७ र ओपनर फिल साल्टले १६ रन जोडे ।
पञ्जावका अर्शदीप सिंह र काइल जेमिसनले तीन–तीन विकेट लिए । युजवेन्द्र चहल, विजयकुमार व्यासक र अज्मतुल्लाह ओमरजाईले समान एक विकेट लिए ।
प्रतिक्रिया