भिजिट भिसा प्रकरणबारे संसदमै सबै प्रश्नको जवाफ दिन्छु : गृहमन्त्री लेखक

भिजिट भिसा प्रकरणबारे संसदमै सबै प्रश्नको जवाफ दिन्छु : गृहमन्त्री लेखक



काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसासम्बन्धी विषयमा आफूमाथि उठेका प्रश्नहरूको जवाफ प्रतिनिधिसभा बैठकमै दिने बताएका छन्।
आज बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले भिजिट भिसा प्रकरणबारे प्रश्न उठाएपछि मन्त्री लेखकले समितिमै सबै सांसदलाई जानकारी दिन सम्भव नहुने भन्दै संसद्को पूर्ण बैठकमा जवाफ दिने तयारी रहेको जानकारी दिएका हुन्।

भिजिट भिसाको नाममा भइरहेको अनियमितता र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका केही कर्मचारीमाथि अख्तियारले थालेको अनुसन्धानलाई लिएर विपक्षी दलहरू, विशेषतः माओवादी केन्द्र, मन्त्री लेखकमाथि पनि छानबिन हुनुपर्ने माग गर्दै संसद् अवरुद्ध गरिरहेका छन्।

यसैबीच, आज संघीय संसद्को प्रतिनिधि सभा दिउँसो १ बजे र राष्ट्रिय सभा सवा १ बजे बस्ने कार्यतालिका रहेको छ।