राजावादीको बैठकमा झन्डै कुटाकुट

राजावादीको बैठकमा झन्डै कुटाकुट



काठमाडौं । वर्तमान व्यवस्था विरोधी राजावादीहरुको समूह ‘संयुक्त जनआन्दोलन समिति’को आज बुधबारको बैठकमा सहभागीबीच माइक खोसाखोस मात्र भएन, झन्डै हात हालाहालको स्थिति सिर्जना भएको थियो ।

बोल्ने क्रममा एकापसमा माइक खोसाखोस भएपछि राजधानीको सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा बसेको बैठक प्रभावित भएको थियो । बुधबारको बैठकमा सहभागी राप्रपाका एक नेताका अनुसार ४४ राजावादी तथा हिन्दुवादी संघ संगठनका प्रतिनिधिसहितको बैठक भएकाले सहभागी खचाखच रहेका थिए ।

बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनको अनुपस्थितिले कार्यकर्तामाझ असन्तुष्टि पैदा भयो। संसदमा व्यस्त रहेको जनाउँदै लिङ्देन बैठकमा उपस्थित नहुने जानकारी दिइएपछि कार्यकर्ताहरूले विरोध जनाउँदै नारा लगाउन थालेका थिए।

‘संसद् नै रोज्नुपर्थ्यो भने आन्दोलनको के अर्थ?’ भन्ने प्रश्नसहित कार्यकर्ताहरू आक्रोशित बनेपछि स्थिति तनावपूर्ण भयो। त्यहीबीच, राप्रपा, नेपालका अध्यक्ष कमल थापाले होहल्लाप्रति असन्तोष जनाउँदै बोले, ‘यदि हल्ला गर्ने हो भने म चुप लाग्छु, यति अव्यवस्थित तरिकाले बैठक सम्भव छैन।’

समितिका संयोजक नवराज सुवेदीले भने कार्यकर्ताको जोश र समर्थनप्रति आभार व्यक्त गर्दै भने, ‘म बुढो भएपनि तपाईंहरूको आत्मविश्वासले अझै ऊर्जा थपिएको महसुस भएको छ।’ उनले बैठक यथास्थितिमा अन्त्य भएको घोषणा गरे।

सुवेदी नेतृत्वको समितिले यसअघि जेठ १५ बाट अनिश्चितकालीन आन्दोलन सुरु गरेको थियो, जसमा राप्रपा, राप्रपा नेपाल र राष्ट्रिय शक्ति नेपालजस्ता दलहरूको समर्थन रहेको छ।