गृहमन्त्री लेखक र राज्य व्यवस्था सभापति खतिवडा सशस्त्र प्रहरी मुख्यालयमा

गृहमन्त्री लेखक र राज्य व्यवस्था सभापति खतिवडा सशस्त्र प्रहरी मुख्यालयमा

गोताखोर बेपत्ता भएको घटना



काठमाडौँ । सप्तरीमा बिहिबार दुई जना गोताखोर बेपत्ता भएको घटनाबारे जानकारी लिन गृहमन्त्री रमेश लेखक र राज्य व्यवस्था तथा शुसासन समितिका सभापति रामहरि खतिवडा सशस्त्र प्रहरी बल मुख्यालय हलचोक पुगेका छन् । लेखक र खतिवडालाई सशस्त्र प्रहरी बलका निमित्त सङ्गठन प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायण दत्त पौडेलले घटनाबारे जानकारी गराएका थिए ।

सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक कृष्ण ढकाल र दन्तकाली तालिम शिक्षालयका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक नेत्र कार्कीले पनि भर्चुअल माध्यमबाट घटना बारे जानकारी गराएका थिए ।

बिहीबारको घटना र हाल सशस्त्र प्रहरी बलमा गोताखोरको सङ्ख्या, अन्य विपद् उद्धारका तालिम प्राप्त जनशक्ति तथा काम कारबाहीबारे विस्तृत रूपमा जानकारी मन्त्री लेखक र सभापति खतिवडाले लिएका छन् ।

मन्त्री लेखकले घटनाप्रति दुख व्यक्त गर्दै खतराजन्य उद्धारमा खटिने जनशक्तिको जीवन बिमा बारे मन्त्रालयले थप कार्य गर्ने बताए । त्यसैगरी सभापति खतिवडाले गोताखोर आफै वेपत्ता भएको घटनाप्रति दुख व्यक्त गर्दै खोजी कार्य तिब्र बनाउन र यो घटनाबाट पाठ सिकेर आगामी दिनमा विपद् उद्धार कार्यमा महत्वपूर्ण भुमिका खेल्न निर्देशन दिए ।

मनसुनजन्य विपदको पूर्वतयारी अभ्यासको क्रममा हिजो उनीहरु सप्तकोशी नदीमा बेपत्ता भएका हुन् । खोजीका लागि दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरीबाट डीएसपीको कमान्डमा चार जना गोताखोरसहित ३५ जना र नम्बर ६ गण सप्तरीबाट विपद् व्यवस्थापन तालिम प्राप्तसहित डिएसपीको कमान्डमा २० जना सुरक्षा फौज परिचालन गरिएको छ ।