काठमाडौं । आख्यानकार विजय हितानको लाहुरेको रेलिमाई कृतिलाई २०७९ सालको अरनिको अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गरिएको छ । गैरआवासीय नेपाली सङ्घको भाषा, साहित्य समितिले स्थापना गरेको २ लाख नगद राशीको अरनिको अन्तर्राष्ट्रिय पुरस्कारको यो तेस्रो संस्करण हो । विदेशमा बस्ने नेपाली लेखकहरूको उत्कृष्ट कृतिलाई यो पुरस्कार प्रदान गरिदै आएको छ ।
शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पुर्व कुलपति, प्रसिद्ध कवि वैरागी काइँलाले सो पुरस्कार कृतिकार विजय हितानलाई प्रदान गरेका हुन् । प्रमुख अतिथि काइँलाले मास्टर मित्रसेनको सैनिक र कलाकारिता जीवनलाई पठनीय किसिमले प्रस्तुत गरेकोमा कृतिकार हितानलाई बधाई दिए ।

नेपाली सेनाका अवकाश प्राप्त रथि एवम् साहित्यकार बाबुकृष्ण कार्कीले सो कृति सेना, प्रहरीका अतिरिक्त साहित्यका सबै पाठकलाई रोचक रहेको जानकारी दिए । आख्यानकार नयनराज पाण्डेले लेखनका अनेक विषयमा अहिले युद्ध साहित्य हाबी हुँदै आएको जनाए ।
गैरआवासीय नेपाली संघका पुर्व कोषाध्यक्ष एंव अरनिको अन्तर्राष्ट्रिय पुरस्कार ब्यबस्थापन समितिका अध्यक्ष कवि हिक्मत थापाले संस्थाले प्रवासमा रहेका नेपाली प्रतिभाहरूलाई समेट्दै प्रोत्साहन गर्न यो पुरस्कार स्थापना गरी वितरण गर्दै आएको जानकारी दिए ।

कवि रमेश पौडेलले बेलायती सेनामा कार्यरत नेपाली सर्जकको सिरानीमा बन्दुक भए पनि हृदयको हार्दिक कलमले मल्हम लाउन सिपालु भएको दाबी गरे । पुरस्कृत प्रतिभा विजय हितानले आदि गायक मास्टर मित्रसेन थापाको जीवनीमाथि लामो खोज र अनुसन्धानपछि सो कृति प्रकाशन गरेको र यो पुरस्कारले युद्ध साहित्यको अनुसन्धानमा अगाडि बढ्न प्रेरणा मिलेको जानकारी दिए ।
कार्यक्रममा साहित्यकारहरु प्रतीक ढकाल, भवानी खतिवडा, कृष्ण बाउसे, भावेश भुमरी, सशस्त्र प्रहरीका पुर्व महानिरीक्षक दुर्जकुमार राईलगायत साहित्यकार , पत्रकार र शुभचिन्तकहरुको उपस्थिति थियो ।
प्रतिक्रिया