सिद्धबाबा सुरुङमार्गमा अहिलेसम्मको भौतिक प्रगति ५४ प्रतिशत

सिद्धबाबा सुरुङमार्गमा अहिलेसम्मको भौतिक प्रगति ५४ प्रतिशत



पाल्पा । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ५४ प्रतिशत पुगेको छ । सुरुङमार्गको वित्तीय प्रगति ४८ प्रतिशत रहेको छ ।

सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन खण्डको माथिल्लो सिद्धबाबा मन्दिरबाट एक हजार एक सय २६ मिटर सुरुङमार्ग २०७९ सालदेखि निर्माण शुरु भएको हो ।

सुरुङमार्ग छिचोलिएपछि कामले गति लिएको हो । अहिले ‘इन्भर्ट र लाइनिङ’ को काम भइरहेको आयोजनाकी इन्जिनियर सविता ज्ञवालीले बताउनुभयो । उहाँका अनुसार मुख्य टनेलको कुल एक हजार ८९ मिटरमध्ये इन्भर्टको नौ सय ९० मिटर काम सकिएको छ, भने लाइनिङको एक हजार एक सय २६ मध्ये छ सय ६० मिटर काम सकिएको हो ।

इन्जिनियर ज्ञवालीले बाइपास–१ मा ‘इन्भर्ट र लाइनिङ’ को काम भइरहेको र बाइपास–३ मा ‘इन्भर्ट’ को काम सुरु भएको जानकारी दिनुभयो । बाइपास–१ मा एक सय ५१ मिटर रहेकामा एक सय ४५ मिटर र लाइनिङको एक सय १८ मिटर काम भइसकेको उनले बताए ।

बाइपास–२ मा एक सय ६१ मिटर छ । तर यसमा इन्भर्ट र लाइनिङको काम शुरु भएको छैन । बाइपास–३ मा एक सय ३० मिटर छ । जसमा इन्र्भटको ३६ मिटर काम भइसकेको छ ।

सुरुङभित्र ढलान, भेन्टिलेसन, लाइनिङ, विद्युत् जडान, अक्सिजन वारपार, सुरक्षाका उपाय, आगो निभाउने यन्त्र जडानलगायत काम गरिने उनले जानकारी दिए ।

त्यसपछि सुरुङमार्गको उत्तर र दक्षिणपट्टि हेलिप्याड निर्माण गरिनेछ । २०८३ सालमा सम्पन्न गर्नेगरी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले सात अर्ब ३४ करोड २१ लाख ४० हजारमा ठेक्का सम्झौता गरेको थियो ।

सिद्धार्थ राजमार्गको तल्लो सिद्धबाबा मन्दिरबाट पाल्पाको दोभानसम्म पहिरोको जोखिमयुक्त क्षेत्र मानिन्छ । सुक्खायाममा पनि धुले पहिरो खस्ने गरेकाले राजमार्गको यो खण्डलाई सुरक्षित बनाउन सुरुङमार्ग निर्माण गरिएको इन्जिनियर ज्ञवालीले बताए ।

यो खण्ड प्रयोग गरी गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, पोखरा, बाग्लुङ तथा म्याग्दीसम्म गाडी आवतजावत गर्छन् ।