काठमाडौं । संघीय निजामती सेवा ऐनको माग गर्दै देशभरका निजामती कर्मचारीहरू आजदेखि कालोपट्टी बाँधेर अनिश्चितकालीन आन्दोलनमा उत्रिएका छन्।
‘संयुक्त राष्ट्रिय ट्रेड युनियन सञ्जाल आन्दोलन निर्देशक समिति’को पहलमा सुरु गरिएको यो आन्दोलनमा विभिन्न राजनीतिक धारका कर्मचारी संगठनहरूको सहभागिता रहेको छ। सहभागी संगठनहरूमा नेकपा एमाले सम्बद्ध नेपाल कर्मचारी संगठन, कांग्रेस निकट निजामती कर्मचारी युनियन, माओवादी केन्द्र निकट कर्मचारी संगठन, एकीकृत समाजवादी निकट संगठन, स्वतन्त्र राष्ट्रसेवक तथा मधेशी निजामती कर्मचारी मञ्चसमेत छन्।
जेठ २० गते बसेको निर्देशक समितिको बैठकले आन्दोलनका चरणबद्ध कार्यक्रम तय गरेको थियो। सो निर्णयअनुसार जेठ २५ गतेदेखि सेवा प्रवाह कायम राख्दै कर्मचारीहरूले कालोपट्टी बाँध्ने निर्णय गरिएको थियो।
निर्णय कार्यान्वयन गर्दै आजदेखि कर्मचारीहरूले कालोपट्टीसहित नियमित काम गरिरहेका छन्। उनीहरूले ऐन जारी नभएसम्म आन्दोलन जारी रहने जनाएका छन्।
प्रतिक्रिया