एनआरएनलाई पैसा कमाएकै कारण वंशजको नागरिकता दिन हुँदैन : चित्रबहादुर केसी

एनआरएनलाई पैसा कमाएकै कारण वंशजको नागरिकता दिन हुँदैन : चित्रबहादुर केसी



काठमाडौं । राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले पैसा कमाएकै कारण गैरआवासीय नेपाली (एनआरएन)लाई वंशजको नागरिकता दिन नहुने बताएका छन् ।

मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले नेपालमा नागरिकताको समस्या धेरै जटिल रहेको बताए ।

खुला सीमा भएका कारण विभिन्न देशबाट नेपाल आउनेको लर्को रहेको उनको भनाइ छ । उनले आमा र बुवा दुवै नेपालीबाट जन्मिएको सन्तानलाई मात्रै वंशजको आधारमा नागरिकता दिनुपर्ने बताए ।

“उत्तर, दक्षिण, बर्मा विभिन्न देशबाट मान्छेको ओइरो लागेको हो । हाम्रो पार्टीले के भन्दै आएको हो भने आमा वंशजको, बुवा वंशजको यसबाट जन्मिएका सन्तानलाई मात्रै वंशजको नागरिकता दिनुपर्छ भन्ने हो,” उनले भने ।

केसीले अगाडि थपे, “गैरआवासीय नेपालीको समस्या र धेरै कुरा सुनियो, उपदेश पनि धेरै सुनिरहेको छ । उनीहरू यहाँ आउन पाउने र उनीहरूलाई वंशजको नागरिकता दिने हो भने देश स्विट्जरल्यान्ड हुनेजस्तो कुरा पनि सुनियो । पैसा कमाएका कारणले नागरिकता पाइन्छ ? वंशजको नागरिकता पाइन्छ ? त्यसो भए त धेरैले लिन्थे नि ।”

अध्यक्ष केसीले नेपालकालाई बाहिर लखेट्ने र बाहिरकालाई ल्याएर नागरिकता दिने विषय राम्रो नभएको बताए ।