सर्लाहीमा भ्रष्टाचार अभियोग : पूर्व अध्यक्षसहित १० जना विरुद्ध मुद्दा दायर

सर्लाहीमा भ्रष्टाचार अभियोग : पूर्व अध्यक्षसहित १० जना विरुद्ध मुद्दा दायर



सर्लाही। करिब साढे २ करोड रुपैयाँ बराबरको भ्रष्टाचार गरेको अभियोगमा सर्लाहीको चक्रघट्टा गाउँपालिकाका पूर्व अध्यक्ष विक्रम यादवसहित १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध सार्वजनिक रकमको दुरुपयोग गरेको आरोप लगाउँदै मुद्दा अघि बढाएको हो। आयोगका अनुसार, आर्थिक वर्ष २०७८\७९ मा गाउँपालिकाले सौर्य बत्ती जडानका लागि छुट्याएको बजेटलाई खण्ड–खण्डमा बाँडेर खरिद प्रक्रियामा अनियमितता गरिएको थियो।

मुद्दामा पूर्व अध्यक्ष यादवसँगै तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लालबाबु प्रसाद साह, लेखा अधिकृत शिवशंकर प्रसाद कुशवाहा, लेखापाल संजयकुमार ठाकुर, जिन्सी प्रमुख रामकैलाश राय यादव, सब–इञ्जिनियर सन्तोष राय र राजु रायसमेत प्रतिवादी छन्।

उनीहरू विरुद्ध जनही २ करोड ४९ लाख ४० हजार ११० रुपैयाँ बिगो कायम गर्दै जरिवानाको माग गरिएको छ।

यसैगरी, उक्त योजनामा संलग्न व्यापारिक फर्महरू स्काई राइज ट्रेडिङ कन्सर्न, एसके स्टोर्स, र जियो टेक्निकल एण्ड इन्फ्रास्ट्रक्चर सोलुसन नेपालका प्रोप्राइटर जयप्रकाश यादव, रञ्जुकुमार शाह र संगिता कुमारीलाई समेत प्रतिवादी बनाइएको छ। ती कम्पनीहरूमाथि जनही ९५ लाख २३ हजार ९१० रुपैयाँको बिगो दाबी गरिएको छ।