कर्णाली विकास बैंक घोटाला : पूर्व वित्त प्रमुख देवप्रकाश सिंह ठकुरी पक्राउ

कर्णाली विकास बैंक घोटाला : पूर्व वित्त प्रमुख देवप्रकाश सिंह ठकुरी पक्राउ



काठमाडौं । कर्णाली विकास बैंकमा देखिएको ठूलो आर्थिक अपचलनसम्बन्धी अनुसन्धानक्रममा बैंकका पूर्व वित्त प्रमुख देवप्रकाश सिंह ठकुरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। केही दिनअघि नेपालगञ्जबाट पक्राउ गरिएका ठकुरीमाथि हाल बाँकेमै अनुसन्धान जारी रहेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जनाएको छ।

यसअघि, यही प्रकरणमा बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर रायलाई भारतको लखनउबाट पक्राउ गरी नेपाल ल्याइएको थियो। राय १५ वर्षसम्म कार्यकारी अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) को रूपमा कार्यरत थिए र करिब ८० प्रतिशत संस्थापक सेयर उनको स्वामित्वमा रहेको बताइएको छ।

घोटालासम्बन्धी छानबिन राष्ट्र बैंक र सीआईबीको समन्वयमा बैंकिङ कसुर तथा सजाय ऐन २०६४ अन्तर्गत भइरहेको छ।

विशेष छानबिन समितिको प्रतिवेदनअनुसार, बैंकको कोर बैंकिङ प्रणाली (CBS) मा देखिएको मौज्दात र नेपाल राष्ट्र बैंकमा रहेको वास्तविक मौज्दातबीच ठूलो अन्तर देखिएको छ।

उदाहरणका लागि, २०८१ पुस ७ गतेसम्म कर्णाली विकास बैंकको सीआरआर खातामा २२ करोड ७४ लाख रुपैयाँभन्दा बढी देखाइएको थियो, तर वास्तविक खाता शून्यको नजिक रहेको पाइएको छ।

हालसम्म बैंकमा करिब २ अर्ब ६० करोड रुपैयाँको अनियमितता भएको उजुरी दर्ता भएको छ, र अनुसन्धानको दायरामा अन्य व्यक्तिहरू पनि पर्न सक्ने अनुमान गरिएको छ।