काठमाडौं । अगस्ट १५ बाट सुरु हुने प्रिमियर लिग २०२५–२६ सिजनको पहिलो खेल लिभरपुल र बर्नमाउथबीच एन्फिल्ड रंगशालामा हुनेछ। लिभरपुलका लागि यो खेल घरेलु मैदानमा सुरु गर्ने अवसर हो, जहाँ मोहम्मद सलाह अघिल्ला सिजनहरूमा ओपनिङ खेलमा सधैं प्रभावशाली देखिएका छन्।
आइतबार, अगस्ट १७ मा म्यानचेस्टर युनाइटेड र आर्सनलबीचको भिडन्त सिजनको सबैभन्दा चर्चा हुने खेलमध्ये एक हुनेछ। युनाइटेडले लगातार नौ सिजन पहिलो खेल घरेलु मैदानमै खेल्ने क्रम जारी राखेको छ।
युनाइटेडको सुरुवात सजिलो देखिँदैन। उनीहरूले पहिलो पाँच खेलमा आर्सनल, फुलहम, बर्नली, सिटी र चेल्सीसँग प्रतिस्पर्धा गर्नुपर्नेछ, जसको औसत प्रतिद्वन्द्वी शक्ति स्कोर (Opta Power Rating) ९४.६ रहेको छ जुन सबै क्लबमध्ये सबैभन्दा कठिन हो।
त्यस्तै, आर्सनलको सुरुवात पनि चुनौतीपूर्ण छ। उनीहरूले युनाइटेडसँगको खेलपछि लिड्स, लिभरपुल, नटिङ्घम फरेस्ट र म्यानचेस्टर सिटीसँग खेल्नेछन्।
लिभरपुलका लागि पनि यो सिजन अघिल्लो जति सजिलो छैन। पहिलो पाँच खेलका प्रतिद्वन्द्वीहरूको औसत Opta स्कोर ९३.३ रहेको छ, जुन कठिन सुरुवातहरूमा पाँचौं स्थानमा पर्छ।
पहिलो हप्ताका मुख्य खेलहरू:
- १५ अगस्ट (शुक्रबार): लिभरपुल vs बर्नमाउथ
- १७ अगस्ट (आइतबार): म्यानचेस्टर युनाइटेड vs आर्सनल
- १८ अगस्ट (सोमबार): लिड्स युनाइटेड vs एभर्टन


प्रतिक्रिया