पूर्वाधार विकास समितिले ग्वार्को फ्लाइओभर निरीक्षण, पर्सीबाट सञ्चालन हुने तयारी

पूर्वाधार विकास समितिले ग्वार्को फ्लाइओभर निरीक्षण, पर्सीबाट सञ्चालन हुने तयारी



काठमाडौं । पूर्वाधार विकास समितिले ललितपुर ग्वार्कोस्थित फ्लाइओभरको स्थलगत अनुगमन गरेको छ। समितिका सभापति दीपक सिंहको संयोजकत्वमा भएको अनुगमनले निर्माण कार्यको प्रगति र गुणस्तरमा सकारात्मक सुधार देखाएको छ।

निर्माणमा ढिलाइ भए पनि म्याद थपेर डिजाइनमा सुधार गरी फ्लाइओभरको काम सकिएको छ। आगामी ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले यसलाई उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ। उद्घाटनसँगै फ्लाइओभरबाट सवारी आवागमन सुरु हुने जनाइएको छ।

सडक विभाग अन्तर्गतको गुणस्तर अनुसन्धान केन्द्रका निर्देशक दीपबाराहीले ठेकेदार कम्पनीले सबै काम पूरा गरेको जानकारी दिएका छन्। कुल लागत करिब १७ करोड ६ लाख रुपैयाँ रहेको यस परियोजनामा अहिलेसम्म ४६ प्रतिशत रकम भुक्तानी भइसकेको छ भने बाँकी रकम छिट्टै भुक्तानी गरिनेछ।

निर्माण कम्पनीले म्याद सकिएपछि दैनिक ८५ हजार रुपैयाँ हर्जाना तिरेको थियो। हर्जानाको दर दैनिक ०.०५ प्रतिशत कायम गरिएको छ र दुई सय दिनसम्म हर्जाना तिर्ने व्यवस्था छ। निर्धारित समयभित्र काम पूरा नभए सम्झौता रद्द हुने प्रावधान पनि लागू छ। यो फ्लाइओभरले क्षेत्रीय यातायातलाई सहज बनाउने अपेक्षा गरिएको छ।