नारायणगढ-बुटवल सडकखण्ड अवरुद्ध, वैकल्पिक सडक प्रयोग गर्न आग्रह

नारायणगढ-बुटवल सडकखण्ड अवरुद्ध, वैकल्पिक सडक प्रयोग गर्न आग्रह


ग्लोब नेपाल
0
Shares

काठमाडौं । लगातारको वर्षाका कारण आएको बाढी र पहिरोले पूर्व पश्चिम राजमार्गको नारायणगढ-बुटवल सडकखण्ड अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय, नवलपरासीले बिहीबार सूचना जारी गर्दै यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ । प्रहरीका अनुसार, केही दिनयताको अविरल वर्षाले विनयी खोलामा पानीको सतह बढेर डाइभर्सनमा क्षति पुगेको छ ।

यसैगरी, दुम्कीबास दाउन्ने सडक खण्डमा पर्ने विश्वकर्मा मन्दिर र झ्युखोला जस्ता स्थानहरूमा सडक चिप्लो भई सवारी साधन फस्ने तथा चिप्लने समस्या देखिएको छ, जसले गर्दा आवागमन पूर्ण रूपमा प्रभावित बनेको प्रहरीले जनाएको छ ।

सडक अवरुद्ध भएपछि प्रहरीले सवारी साधनलाई वैकल्पिक मार्गबाट आवतजावत गर्न सूचित गरेको छ । पूर्वबाट पश्चिमतर्फ जाने सवारी साधनलाई नारायणगढबाट मुग्लिङ, पोखरा र स्याङ्जा हुँदै बुटवल जान भनिएको छ ।

त्यसैगरी, काठमाडौंबाट पश्चिम जाने सवारी साधनले पनि मुग्लिङ-पोखरा-स्याङ्जा हुँदै बुटवलको बाटो प्रयोग गर्नुपर्नेछ । पश्चिमबाट पूर्वतर्फ आउने सवारी साधनले पनि सोही मार्ग, अर्थात् बुटवलबाट स्याङ्जा, पोखरा र मुग्लिङ हुँदै यात्रा गर्नुपर्ने सूचनामा उल्लेख छ ।

साना सवारी साधनका लागि भने अवस्था हेरेर कालिगण्डकी करिडोर अन्तर्गतको गैंडाकोटपिपलडाँडा सडकखण्ड प्रयोग गर्न सकिने विकल्प पनि दिइएको छ ।