इरान-इजरायल युद्धमा अमेरिकी सहभागिता अनिश्चित: राष्ट्रपति ट्रम्प

इरान-इजरायल युद्धमा अमेरिकी सहभागिता अनिश्चित: राष्ट्रपति ट्रम्प



वासिङ्गटन डिसी । इरान र इजराय युद्धमा अमेरिकी सहभागिताका विषयमा राष्ट्रपति ट्रम्पले सबै कुरा अनिश्चित रहेको बताएका छन् ।

राष्ट्रपति ट्रम्पले हस्तक्षेपको निर्णय अनुमोदन गराइसके पनि अन्तिम घोषणा नगरेको अमेरिकी सञ्चार माध्यमको दाबी छ । ट्रम्पले निर्णय पास गराइसकेको विषय शुरुमा वाल स्ट्रिट जनरलले समेत सार्वजनिक गरेको छ । ट्रम्पले अमेरिकाले आक्रमण शुरु गरे भने इरान बाध्य भएर वार्तामा आउने जिकिर भने दोहोर्‍यएका छन् ।

इरान र इजरायलले बुधबार राति पनि एक अर्कामाथि आक्रमण गरेका छन् । इरानसहित रुस, पाकिस्तान, अल्जेरिया र चीनले जारी युद्धका विषयमा कुरा गर्ने प्रस्ताव राखेका कारण अमेरिकाले शुक्रबार सुरक्षा परिषद्ले आपतकालीन बैठक बोलाएको छ । केही समय अघि मात्र ट्रम्पले सुरक्षा निकायका अधिकारीसँग छलफल समेत गरेका थिए ।

ट्रम्पले आफूले चाल्ने कदमबारे कसैलाई जानकारी नभएको तर, आक्रमण तीव्र भइरहँदा इरानलाई धेरै समस्या भएकोबारे भने आफूले आँकलन गर्न सक्ने बताए । इरानकै सहजताका लागि भए पनि आफूले वार्तामा जोड दिएको उनको भनाइ छ । तर, इरानले अमेरिका र इजरायल सामु कहिल्यै नझुक्ने र युद्ध विराम असम्भव रहेको अडान लिइरहेको छ ।

यसअघि इरानका सर्वोच्च नेताले ट्रम्पलाई इजरायली आक्रमणमा अमेरिका सामेल भएमा अपूरणीय क्षति हुने चेतावनी दिएका थिए । यसैबीच, पछिल्लो तीन दिनमा कम्तीमा ३० अमेरिकी सैन्य विमानहरू अमेरिकाबाट युरोपमा सारिएका छन् । विमानहरू सबै अमेरिकी सैन्य ट्याङ्कर विमानहरू हुन् । जुन लडाकु जेट र बम वर्षकहरूलाई इन्धन भर्न प्रयोग गरिन्छ ।

इजरायलले गत शुक्रबार इरानको आणविक क्षेत्रमा आक्रमण गरेपछि इजरायल र इरानबीच शुरू भएको द्वन्दको समयमा अमेरिकी उडानहरु युरोप पुगेपछि यसबारे प्रश्न उठेको समाचारमा उल्लेख छ ।