अमेरिकाको टेक्सास राज्यको डाल्लास र क्यालिफोर्नियाको सन् फ्रान्सिस्को शहरमा नेपालको वाणिज्य दूतावास गठन हुने प्रक्रिया अघि बढेको छ। वर्तमान सरकारले करीब ६ महिना पहिले यी दुई शहरमा वाणिज्य दूतावास स्थापना गर्ने निर्णय गरेको थियो। सोही निर्णयपश्चात अहिले औपचारिक प्रक्रिया पूरा गर्नका लागि दुवै शहरमा परराष्ट्र मन्त्रालयका सहसचिवको नेतृत्वमा एक कर्मचारी टोली अनुगमनका लागि आइपुगेको छ।
परराष्ट्रले टेक्सासमा सहसचिव सुरेश अधिकारी र सन् फ्रान्सिस्कोमा सहसचिव लक्ष्मण खनाललाई वाणिज्य दूत नियुक्त गरेर जिम्मेवारी प्रदान गरेको छ। अधिकारी र खनाल अहिले आआफ्नो जिम्मेवारी तोकिएको शहरमा कार्यालय स्थापनाका लागि आवश्यक प्रक्रियामा जुटेका छन्। यो प्रक्रिया पुरा भएपछि औपचारिक रुपमा सेवा संचालन हुनेछ। यसका लागि अझै केही समय लाग्ने सरकारी प्रतिनिधिको भनाई छ।
यसैबीच दुवै शहरमा औपचारिक रुपमा वाणिज्य दूतावास स्थापना हुन लागेकोमा खुशी व्यक्त गर्दै अमेरिकामा रहेका नेपाली संघ,संस्थाहरुले सरकारको यस पहलकदमीको स्वागत गरेका छन्।
नेपाली काँग्रेसको भातृ संगठन नेपाली जनसम्पर्क समिति, एमाले निकट प्रवासी नेपाली मंच लगायतका संघ संस्थाले नेपालीहरुलाई सुविधा प्रदान गर्न यी दुवै शहरका वाणिज्य दूतावास सफल हुने विश्वास समेत व्यक्त गरेका छन्। जनसम्पर्क समिति, प्रवासी मंच र अन्य संघ,संस्थाले यस्तो कार्यालय स्थापनाका लागि विगत लामो समयदेखि आ आफ्नो पार्टी मार्फत नेपाल सरकार समक्ष लविङ्ग गर्दै आएको र त्यो प्रयास सफल भएको भन्दै विज्ञप्ति सार्वजनिक गरेका छन्।
नेपाली कांग्रेसका पूर्व आमन्त्रित केन्द्रीय सदस्य समेत रहेका जनसम्पर्क समिति,अमेरिकाका सभापति आनन्द विष्टले कन्सुलेट अफिस स्थापना हुन लागेकोमा जनसम्पर्क समिति परिवार खुशी व्यक्त गर्दछ भन्दै जारी गरेको विज्ञप्तिमा लेखेका छन्,-‘ हामीले यस समितिको तर्फबाट पश्चिमी क्षेत्रको क्यालिफोर्निया राज्यको सन् फ्रान्सिस्को शहर र टेक्सासको डाल्लासमा नै वाणिज्य दूतावासको कार्यालय स्थापना गरिनुपर्छ भन्ने माग परराष्ट्र मन्त्रालय हुँदै नेपाल सरकार र नेपाली कांग्रेसको पार्टी नेतृत्व समक्ष निरन्तर राख्दै आइरहेका थियौं ।’
हामी यसका लागि तदारुकताका साथ पहलकदमी लिइदिनु हुने सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू र परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसकी नेतृ माननीय डाक्टर आरजु राणा देउबाज्यूसहित सिंगो नेपाल सरकारप्रति यस समितिको तर्फबाट विशेष आभार व्यक्त गर्दछौं ।
समितिका तर्फबाट विष्टले जारी गरेको विज्ञप्ति जस्ताको तस्तै:



प्रतिक्रिया