बीपी राजमार्गमा मानवीय क्षति भए भौतिक मन्त्रालयमा लिएर आउने कान्छारामको चेतावनी

बीपी राजमार्गमा मानवीय क्षति भए भौतिक मन्त्रालयमा लिएर आउने कान्छारामको चेतावनी


ग्लोब नेपाल
0
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य पूर्णबहादुर तामाङ (कान्छाराम) ले ९ महिना बितिसक्दा पनि सरकारले बीपी राजमार्ग निर्माणको काममा चासो नदेखाएको भन्दै आपत्ति जनाएका छन् ।

प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले बिग्रिएको ९ महिना बितिसक्दा पनि बीपी राजमार्ग नबन्नुमा भौतिक पूर्वाधारमन्त्री दोषी रहेको बताए । उनले बीपी राजमार्गमा कुनै मानवीय क्षति भएको खण्डमा मन्त्रालयमै लिएर आउनेसमेत चेतावनी दिए । दैनिक २० हजार मानिस आवतजावत गर्ने सो राजमार्ग नबनेको भन्दै उनले आपत्ति जनाए ।

‘त्यहाँ दिनमा २० हजार यताबाट जान्छन्, २० हजार मान्छे पूर्वबाट आउँछन् । त्यहाँ भोलि ब्लक भयो, क्षति भयो, मान्छे मर्‍यो भने कसले जिम्मेवारी लिने ? भौतिक मन्त्रीले जिम्मेवारी लिनुपर्छ । तपाईं के हेरेर बस्नुभयो ९ महिनासम्म त्यो बाटो किन नबनाएर ? को थियो त तपाईंभन्दा ठूलो मन्त्री कोही थियो ? तपाईं कहाँ जानुभएको थियो ? बीपी हाइवेयमा मानवीय क्षति भए भने तपाईंको मन्त्रालयमा ल्याउँछु । तपाईंले त्यतिखेर कति व्यहोर्नुपर्छ ? मन्त्रीज्यू तपाईंको ठूलो कमीकमजोरी भएको छ,’ उनले भने ।

उनले भौतिक मन्त्रीमा अनुभव कमी देखिएको टिप्पणी गरे । ‘तपाईंलाई त राम्रो अनुभव होला जस्तो लागेको थियो । तपाईंलाई प्रदेशको माननीयले भोट हालेको, गाउँपालिका अध्यक्ष उपाध्यक्षले भोट हालेको, मेयर, उपमेयरले भोट हालेको । हामीजस्तो जनताले भोट हालेर आएको हामी पनि माननीय हौं,’ उनले भने ।

गत असोजमा गएको बाढीको कारण बिपी राजमार्गअन्तर्गत विभिन्न ठाउँमा सडक भत्किएको छ । भत्किएको ९ महिना बितिसक्दा पनि कुनै वैकल्पिक उपाय अपनाइएको छैन । वर्षायाममा उक्त सडक चलाउन सकिने अवस्था एकदमै न्यून छ ।