रुपन्देही । बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ३ अर्ब ३६ करोड १३ लाख बराबरको बजेट ल्याएको छ ।
सोमबार नगर सभाको सत्रौं अधिवेशनको तेस्रो बैठकमा उपप्रमुख सावित्रादेवी अर्यालले चालुतर्फ ४९ प्रतिशत र पुँजीगततर्फ ५१ प्रतिशत रहने अनुमानसहित ३ अर्ब ३६ करोड १३ लाख बराबरको बजेट प्रस्तुत गरेकी हुन् ।
उपप्रमुख अर्यालले प्रस्तुत गरेको बजेटमा बुटवलले आन्तरिक स्रोततर्फ आगामी आर्थिक वर्षमा ९५ करोड आय हुने अनुमान पेस गरेको छ । बजेटमा बुटवलले आगामी आर्थिक वर्ष २०८२/८३ मा शिक्षा स्वास्थ्य रोजगार पर्यटन र कृषिलाई विशेष प्राथमिकता दिएको छ ।
‘कलेजमा अध्ययनरत विद्यार्थीहरूलाई सहभागी गराइ पढाइसँगै रोजगार सिर्जना गरौं, युवालाई देशमै बस्ने परिस्थिति निर्माण गरौं भन्ने उद्देश्यका साथ ट्राफिक व्यवस्थापनमा स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरूलाई खटाउने कार्यक्रमलाई बुटवलले प्राथमिकता दिएको छ। जसका लागि ५० लाख रुपैयाँ व्यवस्था गरिएको छ,’ उपप्रमुख अर्यालले भनिन् ।
यस्तै, बुटवलको सपना, निजी क्षेत्रसँगको सहकार्यमा बुटवलको समृद्धिको परिकल्पना भन्ने मर्मसहित निजी क्षेत्रसँग सहकार्य गरी कार्यक्रम सञ्चालनका लागि १ करोड विनियोजन गर्ने बजेटमा उल्लेख छ ।
बुटवललाई पर्यटकीय विश्रामस्थलका रूपमा स्थापित गर्नका लागि पर्यटन प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्न ५० लाख र बुटवललाई सांस्कृतिक सहर बनाउनका लागि १ करोड १५ लाख रुपैयाँ छुट्याइएको छ ।
विद्यालयहरूको सुधार र न्यूनतम मापदण्ड पूरा गर्नका लागि ६ करोड, कृषि सुधार कार्यक्रमअन्तरगत बुटवलका किसान हाम्रो सान कार्यक्रमका लागि १ करोड, छात्राहरूलाई निशुल्क अध्ययनको व्यवस्था मिलाउने कार्यक्रम छोरी पढाउँ कार्यक्रमका लागि ५० लाख, विपन्न वर्गका बालबालिकाको पोशाक र शैक्षिक सुधारका लागि ३० लाख, सामुदायिक विद्यालयमा डिजिटल लर्निङ पोर्टल र कम्प्युटर शिक्षा सुधारका लागि १ करोड, स्थानीय पाठ्यक्रमलाई सुधार गर्ने कार्यका लागि ७० लाख बजेट छुट्याइएको छ ।
यस्तै जेष्ठ नागरिक र असहायहरूलाई घरदैलोमा स्वास्थ्य सेवा पुर्याउने कार्यक्रम बाआमासँग नगर प्रमुख कार्यक्रम सञ्चालनका लागि ९० लाख, महिलाहरूको पाठेघर, स्तन क्यान्सर, भिडियो एक्सरे र अन्य स्वास्थ्य परीक्षणका लागि ३० लाख, बुटवल १३ र १७ मा निर्माण भएका अस्पताल सञ्चालन तथा व्यवस्थापनका लागि ६० लाख बजेट छुट्याइएको छ ।
प्रतिक्रिया