वीरगञ्ज महानगरले गर्‍याे ३ अर्ब २२ करोडको बजेट सार्वजनिक

वीरगञ्ज महानगरले गर्‍याे ३ अर्ब २२ करोडको बजेट सार्वजनिक



काठमाडौं । वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ३ अर्ब २२ करोड ४८ लाख ४९ हजार रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ ।

मधेश प्रदेशको एक मात्र महानगरपालिका वीरगञ्ज महानगरपालिकाको सोमबार १७औँ नगरसभामा उपप्रमुख इम्तियाज आलमले ३ अर्ब २२ करोड ४८ लाख ४९ हजार रुपैयाँको अनुमानित आयव्ययसहितको बजेट सार्वजनिक गरेका हुन् ।

बजेटमा चालु खर्चतर्फ २ अर्ब २६ करोड ५० लाख ४९ हजार अर्थात् कुल बजेटको ७०.२४ प्रतिशत, पुँजीगत खर्चतर्फ ९२ करोड ३४ लाख अर्थात् कुल बजेटको २८.६४ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ३ करोड ६४ लाख अर्थात् १.१२ प्रतिशत रहेको उल्लेख छ ।

त्यसैगरी, आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमा अनुमानित खर्च व्यहोर्ने स्रोतहरूमा आन्तरिक राजस्वबाट १ अर्ब १५ करोड, संघीय अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब ३७ करोड ३० लाख, संघीय राजस्व बाँडफाँटबाट २३ करोड ७८ लाख, प्रदेश अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट ५ करोड २८ हजार, प्रदेश राजस्व बाँडफाँटबाट १ करोड ६७ लाख १३ हजार, घरजग्गा रजिस्ट्रेसन शुल्कबापत २५ करोड र नगद मौज्दातबाट १५ करोड व्यहोरिने उल्लेख गरिएको छ ।

आगामी आवका लागि चालु आवभन्दा ३३ करोड बढी बजेट हो । चालु आवका लागि यस महानगरको कुल बजेट २ अर्ब ८९ करोड ४८ लाख १७ हजार रुपैयाँ छ । नगरसभामा बजेट प्रस्तुत गर्दै उपमेयर आलमले आगामी आर्थिक वर्षको बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, सरसफाइ, वातावरण संरक्षण, गुणस्तरीय भौतिक पूर्वाधार र डिजिटलमैत्री सेवा प्रवाहलाई प्राथमिकता दिएको बताए ।