झापा । चालू आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा पूर्वीनाका काँकडभिट्टाबाट १८ अर्ब चार करोड ६० लाख रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ, मट्टितेल आयात भएको हो ।
मेची भन्सार कार्यालयका सूचना अधिकारी एवम् भन्सार अधिकृत ईश्वरकुमार हुमागाईँका अनुसार गएको आर्थिक वर्षको यो अवधिको तुलनामा एक अर्ब छ करोड ४३ लाख रुपैयाँ अर्थात् पाँच दशमलव ६० प्रतिशतले पेट्रोलियम पदार्थ आयातमा गिरावट आएको छ ।
आयात घटे पनि पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व भने पाँच दशमलव ७० प्रतिशत अर्थात् ४७ करोड ४३ लाख ८७ हजार रुपैयाँले बढेको छ । कार्यालयको तथ्याङ्कानुसार चालू आर्थिक वर्षको ११ महिनामा पेट्रोलियम पदार्थ आयातबाट आठ अर्ब ७८ करोड २७ लाख ७२ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ ।
यो अवधिमा आठ अर्ब ११ करोड ५९ लाख मूल्य पर्ने ९३ हजार आठ सय २४ रुपैयाँ किलोलिटर पेट्रोल आयात भएको थियो । यसैगरी छ अर्ब २६ करोड ७१ लाख रुपैयाँ पर्ने ६८ हजार आठ सय २० किलोलिटर डिजेल आयात भएको छ ।
त्यसैगरी, यो अवधिमा दुई अर्ब ५९ करोड रुपैयाँ पर्ने २३ हजार चार सय ३८ मेट्रिक टन एलपी ग्यास, ६१ करोड २० लाख रुपैयाँ पर्ने छ हजार सात सय आठ किलोलिटर एटीएफ र २२ करोड ७१ लाख रुपैयाँ पर्ने दुई हजार पाँच सय २० किलोलिटर मट्टितेल आयात भएको छ ।
प्रतिक्रिया