त्रिभुवन विमानस्थलमा अलपत्र परेका यात्रु उड्न थाले

त्रिभुवन विमानस्थलमा अलपत्र परेका यात्रु उड्न थाले



काठमाडौं । उडान रद्द भएपछि गएरातिदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र परेका यात्रु गन्तव्यतर्फ उड्न थालेका छन् ।

गएराति साढे ११ बजे कतारको दोहा उड्न लागेको नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) को उडान रद्द भएपछि यात्रु विमानस्थलमा नै अलपत्र परेका थिए ।

निगमका प्रवक्ता सुवास डाँगीका अनुसार निगमको हिजो हुनुपर्ने दोहा उडानमा २ सय ६९ जना यात्रु थिए । त्यस्तै हिमालय एअरलाइन्स विमानको कतार उडान पनि रद्द हुँदा धेरै सङ्ख्यामा यात्रु अलपत्र परेका थिए । उडान सञ्चालन भएसँगै यात्रु गन्तव्यतर्फ लागेका विमानस्थल कार्यालयले जनाएको छ ।

इरानले कतारमा आक्रमण गरेपछि विशेषगरी खाडीका देश जाने केही उडान रद्द भएका थिए । विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार गएराति नेपाल एअरलाइन्स र हिमालय एअरलाइन्सको कतार गन्तव्यको उडान रद्द भएको थियो ।

कतारबाट बिहान ८ बजे काठमाण्डौ आइपुग्नुपर्ने विमानको उडान रद्द भएको छ । महाप्रबन्धक निरौलाले कतारले आफ्नो आकाश खुला गरिसकेकाले अब नियमित रूपमै उडान हुने बताए ।