यूएईमा नेपाली कामदारको न्यूनतम तलब अब १ हजार दिराम

यूएईमा नेपाली कामदारको न्यूनतम तलब अब १ हजार दिराम



काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) मा रोजगारीमा जाने नेपाली कामदारको न्यूनतम पारिश्रमिक १ हजार दिराम वा त्योभन्दा माथि हुने सरकारी निर्णय अब कार्यान्वयनमा आएको छ।

सोमबार नेपाल सरकारको राजपत्रमा सूचना प्रकाशित भएपछि उक्त निर्णय लागू भएको हो। यसअनुसार अब म्यानपावर कम्पनीहरूले तोकिएको न्यूनतम तलबभन्दा कम तलबमा कामदार पठाउन नपाउने व्यवस्था गरिएको छ।

यसअघि यूएईमा अदक्ष कामदारका लागि ८ सय दिराम तलब निर्धारण गरिएको थियो। तर, अब नयाँ व्यवस्था अनुसार अदक्ष श्रमिकले मासिक कम्तीमा १ हजार दिराम पारिश्रमिक र ४ सय दिराम खाना खर्च पाउनेछन्, जसअनुसार कुल तलब १ हजार ४ सय दिराम हुनुपर्नेछ।

त्यस्तै, अर्धदक्ष श्रमिकका लागि पारिश्रमिक १ हजार २ सय दिराम र खाना खर्च ४ सय दिराम तोकिएको छ, जसअनुसार उनीहरूले न्यूनतम १ हजार ६ सय दिराम पाउनेछन्।

सरकारको निर्णयले यूएईमा काम गर्न चाहने नेपाली श्रमिकका लागि न्यूनतम आर्थिक सुरक्षाको प्रत्याभूति गर्न मद्दत पुर्‍याउने विश्वास गरिएको छ।