काठमाडौं । देशभरका ९७ प्रतिशत गाउँपालिकाहरूले आर्थिक वर्ष २०८१/८२ का लागि नीति, कार्यक्रम तथा बजेट तोकिएको समयमै पेस गरेका छन् ।
गाउँपालिका राष्ट्रिय महासंघ नेपालले उपलब्ध गराएको विवरण अनुसार ४ सय ६० मध्ये ४४५ गाउँपालिकाले असार १० गतेको संवैधानिक समयसीमाभित्र बजेट सभामा प्रस्तुत गरेका हुन् । तर, १५ वटा गाउँपालिका भने विभिन्न कारणले समयमा बजेट ल्याउन असफल भएका छन् ।
नेपालको संविधान र संघीय कानुनले स्थानीय तहलाई असार १० गतेभित्र आफ्नो सभामा बजेट पेस गर्नुपर्ने व्यवस्था गरेको छ । १५ गाउँपालिकामा सभाको अधिवेशन नै सुरु हुन सकेको छैन भने एउटा गाउँपालिकासँग सम्पर्क हुन नसकेको महासंघले जनाएको छ ।
अध्यक्ष अस्वस्थ हुनु, जनप्रतिनिधिहरू कार्यक्षेत्र बाहिर रहनु, उनीहरूबीच आपसी द्वन्द्व हुनु, बजेट विनियोजनमा विवाद देखिनु तथा तयारीका लागि पर्याप्त समय नपुग्नु जस्ता कारण स्थानीय तहले बजेट ल्याउन नसकेका हुन् ।
प्रदेशगत तथ्यांक हेर्दा कोशी र सुदूरपश्चिम प्रदेशका सबै गाउँपालिकाहरूले शतप्रतिशत बजेट प्रस्तुत गरेका छन् । मधेसका ५९ मध्ये ९ वटा गाउँपालिकाले समयमा बजेट ल्याउन सकेनन् । मधेशमा ८५ प्रतिशत मात्रै प्रगति देखिएको छ ।
त्यस्तै, गण्डकी र लुम्बिनी प्रदेशका २/२ तथा बागमती र कर्णाली प्रदेशका १/१ गाउँपालिकाले पनि समयसीमा गुमाएका छन् । महासंघले बाँकी रहेका गाउँपालिकाहरूले पनि केही दिनभित्रै सभा शुुरु गर्ने जानकारी प्राप्त भएको जनाएको छ ।
प्रतिक्रिया