समितिबाट पारित विधेयक कार्यसूचीबाट हटाइनु चिन्ताजनक: प्रचण्ड

समितिबाट पारित विधेयक कार्यसूचीबाट हटाइनु चिन्ताजनक: प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदीय समितिबाट पारित भएर पनि संसद्मा पुगेपछि विधेयकहरूमा राजनीतिक चलखेल बढ्ने गरेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्।

बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सहभागी हुँदै प्रचण्डले प्रहरीसम्बन्धी विधेयकमाथि छलफल चलिरहेका बेला यस्तो भनाइ राखेका हुन्।

उनले संघीय निजामती सेवा विधेयकको उदाहरण दिँदै भने, ‘संसदीय समितिबाट सदनमा पुग्ने बेलासम्म धेरै चलखेल हुने गरेका छन्। अहिले पनि असाध्यै बढी चिन्ता छ, देशको राजनीतिक परिस्थितिलाई हेरेर केही महत्वपूर्ण विधेयक, जो धेरै मेहनत गरेर सदनमा पुर्‍याएको र समितिमा पुर्‍याएर पारित पनि गरिएको छ। सदनमा चढेर पनि कार्यसूचीबाट हटाउने कुरा एकदमै चिन्ताको विषय बनेको छ।’

प्रचण्डले यस्ता विधेयक समयमै संसद्मा पेश नहुनु र कार्यसूचीबाट हटिनु नै सत्ता साझेदारीको एक कारण भएको संकेत गरे। उनले संघीय निजामती सेवा विधेयक र विद्यालय शिक्षा विधेयक आफ्नै विशेष पहलमा अघि बढाइएको स्मरण गराए।

‘विद्यालय शिक्षा विधेयक पनि असार १५ गतेसम्म ल्याइन्छ भनेर प्रतिबद्धता सरकारले जनाएको थियो। मैले नै यी विधेयक सदनमा पु-याउन ठूलो मेहनत गरेको छु र धेरै संवेदनशील विधेयक हुन्। कतै फेरि यतिकै टारिने त होइन भनेर चिन्ता लागिरहेको छ। सरकारको पनि ध्यानाकर्षण गराइरहेको छु। त्यसो गर्न खोजिएको हो भने त्यसो नगरियोस्। समितिबाट सर्वसम्मत पारित भएका विधेयक सदनमा ठीक ढंगले प्रस्तुत भएर पारित हुनेतर्फ समितिका सभापति र मन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भने।

त्यसैगरी, प्रहरीसम्बन्धी विधेयकलाई यथासक्य परिमार्जन गरेर पारित गर्नुपर्नेमा पनि उनले जोड दिए। ‘अधिकतम परिमार्जनसहित पारित गर्नेतर्फ सबैको ध्यान जानेछ। यो विधेयक धेरै कुरा यस अघिका भएका छलफललाई सम्झिँदा ख्याल गर्नुपर्नेछ। यसलाई परिमार्जन गर्ने र लामो समयलाई विचार गरेर पारित गर्नुपर्छ। कहिले सर्वसम्मतबाट त कहिले बहुमतले पारित गर्छौं,’ प्रचण्डले उल्लेख गरे।