काठमाडौँ । हेडिंग्लेमा सम्पन्न पहिलो टेस्टमा इंग्ल्याण्डले भारतविरुद्ध ५ विकेटले जित निकाल्दै एन्डरसन–तेन्डुलकर ट्रफीमा १–० को अग्रता बनाएको छ । ३७१ रनको कठिन लक्ष्य पछ्याउँदै इंग्ल्याण्डले पाँचौं दिन उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्दै जित दर्ता गर्यो।
बेन डकेटले १४९ रनको शान्दार इनिङ्स खेले भने जो रुटले नटआउट ५३ रन बनाए। यी दुईको योगदानले इंग्ल्याण्डलाई जितको नजिक पुर्यायो। सुरुवातमा डकेट र क्राउलीले १८८ रनको साझेदारी गर्दै बलियो आधार तयार गरे।
भारतका लागि शार्दुल ठाकुरले दुई विकेट झिक्दै केही आशा जगाए भने प्रसिद्ध कृष्णले पनि दुई विकेट लिए। तर जो रुट र डम स्मिथबीचको ७१ रनको अपराजित साझेदारीले खेल भारतको हातबाट फुस्कियो। स्मिथले जडेजाको बलमा छक्का हानेर खेल टुंग्याएका थिए।
भारतले म्याचमा कुल पाँच शतक बनाए पनि परिणाम आफ्नो पक्षमा पार्न सकेन। गिल, पन्त, जायसवाल र राहुलले शतक बनाए, तर बलिङ र फिल्डिङमा कमजोरीका कारण हार व्यहोर्नुपर्यो। टेस्ट इतिहासमा यस्तो पहिलो पटक भयो कि कुनै टिमले पाँच शतक बनाउँदा पनि हारको सामना गर्नु पर्यो।
बुमराहले पहिलो इनिङ्समा पाँच विकेट लिँदै चम्किए, तर दोस्रो इनिङ्समा प्रभाव जमाउन सकेनन्। इंग्ल्याण्डले आक्रामक शैली ‘बाजबल’को प्रयोग गर्दै भारतको रणनीति बिगार्न सफल रह्यो।
यो जीत इंग्ल्याण्डको टेस्ट इतिहासको दोस्रो ठूलो रन चेस पनि हो। सन् २०२२ मा भारतविरुद्ध नै ३७८ रन पछ्याएर जितेको थियो।
म्यान अफ द म्याच घोषित भएका डकेटको प्रदर्शन निर्णायक रह्यो।
कप्तान शुभमन गिलले हारपछि प्रतिक्रिया दिँदै भने, हामीले राम्रो स्कोर बनायौं तर क्याच छुट्नु र तल्लो क्रमको ब्याटिङ कमजोर हुनु हारको कारण बन्यो। आगामी म्याचमा कमजोरी सुधार्ने प्रयास गर्नेछौं।
अब दोस्रो टेस्ट २ जुलाईदेखि एजबास्टनमा सुरु हुनेछ।
प्रतिक्रिया