आईसीसी टी-२० आई वरीयतामा नेपाली खेलाडीको उत्साहजनक सुधार

आईसीसी टी-२० आई वरीयतामा नेपाली खेलाडीको उत्साहजनक सुधार



काठमाडौं । आईसीसी टी-२० आई वरीयतामा नेपाली क्रिकेट खेलाडीहरूले उत्साहजनक सुधार हासिल गरेका छन् । क्रिकेटर सन्दीप लामिछानेले आईसीसी टी-२० आई बलिङ वरीयतामा एकैपटक ४१ स्थानको फड्को मारेका छन् ।

स्कटल्याण्ड सिरिजमा गरेको उत्कृष्ट प्रदर्शनपछि उनी यसअघि शीर्ष १०० मा नअटाएका सन्दीप ७५ औं स्थानमा पुगेका हुन् ।

सन्दीपले स्कटल्याण्ड र नेदरल्याण्ड्सविरुद्ध विशेषतः राम्रो प्रदर्शन गरेका थिए । बलिङतर्फ नै ललित राजवंशी पनि २९ स्थान सुधार गर्दै ५४ औं स्थानमा उक्लिएका छन् भने दीपेन्द्रसिंह ऐरी ८० औं स्थानमा छन् ।

टी-२० आईको ब्याटिङतर्फ कुशल भुर्तेल १० स्थान सुधार गर्दै ८३ औं स्थानमा आइपुगेका छन् । कप्तान रोहित पौडेल ६६ औं, दीपेन्द्रसिंह ऐरी ६१ औं र आसिफ शेख ७७ औं स्थानमा छन् ।

अलराउन्डर वरीयतामा भने दीपेन्द्रसिंह ऐरी तेस्रो स्थानमा यथावत् छन् । यसबाहेक कुशल भुर्तेल ६ स्थान सुधार गर्दै ३२ औं, गुलशन झा ६० औं, रोहित पौडेल ६६ औं, कुशल मल्ल ६७ औं र करण केसी ८१ औं स्थानमा छन् । टिम वरीयतामा नेपाल १८ औं स्थानमा यथावत् छ ।