विद्यालय तहमा योग शिक्षा पुर्‍याउनुपर्नेमा मन्त्री पाण्डेको जोड

विद्यालय तहमा योग शिक्षा पुर्‍याउनुपर्नेमा मन्त्री पाण्डेको जोड



काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले देशभरका विद्यालयमा योग शिक्षा विस्तार गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।

भक्तपुरको सानोठिमीस्थित आदर्श माध्यमिक विद्यालयमा आयोजित ‘विद्यालय योग शिक्षा’ र ‘विद्यालय शिक्षक केन्द्रीय योग उत्प्रेरक’ तालिमको उद्घाटन गर्दै उनले विद्यालय तहमै योग पढाइनु आवश्यक रहेको बताए। उनले भने, ‘योग स्वास्थ्यका दृष्टिकोणले प्रभावकारी विधि भएकाले विद्यालय तहसम्म योग शिक्षा पुर्‍याउनुपर्छ।’

मन्त्री पाण्डेले भक्तपुरबाट सुरु गरिएको विद्यालय योग कार्यक्रमलाई ७७ वटै जिल्लामा विस्तार गर्दै शिक्षक, विद्यार्थी तथा युवाहरूलाई योगमा जोड्नुपर्नेमा जोड दिए।

उनले थपे, ‘नेपालको युवा शक्तिलाई योगमा ल्याउनु आवश्यक छ। अबको १५ वर्षमा देशभरका युवा योग साधनामा लाग्नेछन्। योगको ज्ञान र ध्यानले पहिलो परिवार, समाज, देश र विश्वमै शान्ति स्थापना गर्न सकिन्छ। यसले मानव स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने भएकाले प्रत्येक व्यक्तिलाई योग आवश्यक छ। यो अभियान अब नेपालबाट सुरु हुन्छ।’